एसईई वैशाख ९ गतेदेखि गर्ने परीक्षा बोर्डको निर्णय
काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले आगामी वैशाख ९ बाट २० गतेसम्म भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समय भन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।
स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । कोभिड–१९ महामारी फैलिएपछि २०७६ र २०७७ सालका एसइई भौतिक रूपमा गर्न सम्भव भएको थिएन् ।





















