स्थानीय निर्वाचनका लागि बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने

खबरपथ संवाददाता
१८ बैशाख २०७९, आईतवार १२:१७

नेपालगञ्ज। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनअघि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने द्विपक्षीय सहमति भएको छ । नेपाल–भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचन अघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए ।

सीमा क्षेत्रको दशगजा क्षेत्रमा कडाई गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने र ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाउने निर्णय भएको प्रजिअ खत्रीले बताए ।

बाँकेका प्रजिअ खत्री, बर्दियाका प्रजिअ बन्धु प्रसाद बास्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र भारततर्फ बहराइच र श्रावस्तीका सीमा सुरक्षा बल सहित दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले जंगली जनावरको अवैध पैठारी, काठ तस्करी, लागूऔषधको कारोवार, मानव बेचविखन लगायका विषयमा छलफल गरेको थियो ।

जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाई गरेको र सुरक्षाकर्मीले सयुक्त सुरक्षा गस्तीसमेत गरेका छन ।

बाँके जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ भने बर्दियाको ८२ किलोमिटर पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*