भोट खसाल्न नसक्ने मतदातालाई कस्तो छ व्यवस्था ?

खबरपथ संवाददाता
२५ बैशाख २०७९, आईतवार २२:४५

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफैं मत हाल्न नसक्ने मतदाताले एकघरुको परिवारको सदस्यलाई मत हाल्ने अनुमति पाउने जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्य स्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधान रहेको जनाएको हो ।

दृष्टि विहीन वा शारीरिक अशक्त मतदाताको साथमा परिवारको सदस्यलाई सँगै जान अनुमति दिंदा एक्लै मतदान कक्षमा गई आफैं मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने आयोगले जनाएको छ।

दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिन्हमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।

कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैं मत संकेत गर्न नसक्ने भई मत संकेत गर्ने काममा सहयोग पुयाउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको आयोगले जनाएको छ ।

सो व्यवस्था अनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*