बाँकेमा मनाइयो २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

खबरपथ संवाददाता
८ जेष्ठ २०७९, आईतवार २१:२१

नेपालगञ्ज । बाँकेमा जैविक विधिताको अवस्था अध्ययन गर्दै २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बाँकेको आयोजनामा आइतबार राप्ती नदी प्रणालीको जैविक विविधताको अवस्थाका बारेमा अध्ययन गरिएको हो ।

राप्तीसोनारी-१ कुशुमबाट नदीमा र्‍याफ्टिङ्गको मद्दतले गरिएको सो अध्ययनले समग्र जीवको अवस्थाको बारेमा जानकारी हुने भएकोले नदीमा र्याफटिङ्गको प्रयोग गरिएको बताइएको छ ।

कार्यक्रममा वनस्पति विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले लोप भएर गएको जीव फेरी फर्केर आउन नसक्ने कुरामा जोड दिँदै नदीको अवलोकनले धेरै कुराको जानकारी हुने बताए ।

यो एक किसिमको नदीको स्वास्थ्य परीक्षण गरेको जस्तै हो । यो कार्यले नदीमा रहने जीव मात्रको नभएर समग्र जीवको अवस्था जान्नको लागि सबै भन्दा सजिलो उपाय नै नदीको अवलोकन हो जो आज हामी गर्दैछौं, उनले भने । उनले नदीको पानी स्वच्छ भएमा पनि सबै जीवहरूको जीवन सुरक्षित हुने बताए ।

उनले बढ्दो प्रदूषण, बन विनाश, अतिक्रमण, विषादीको प्रयोग, इको सिस्टममा पर्ने प्रभावले गर्दा करिब १० लाख जीवको भविष्य लोप हुने खतरामा पुगेको जानकारी दिँदै भने, ‘एउटा मात्र जीव लोप भएर गयो भने त्यो पुन फर्केर आउँदैन त्यसैले लोप हुने अवस्था नै आउन नदिनको लागि विषादीको प्रयोग, बन विनाश र दोहन गर्ने जस्ता कार्य रोक्दै , संरक्षणमा जोड दिन आवश्यक छ ।’

नेपालले जैविक विविधताले भरिएको देशको रूपमा बाहिर परिचय बनाएको भए पनि यसलाई जोगाउन निक्कै चुनौतीहरू रहेको र ती चुनौतीलाई डटेर सामना गर्न आवश्यक छ ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष तप्त बहादुर पौडेलले गाउँपालिकाले संरक्षणको क्षेत्रमा हातेमालो र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले सबैको सहकार्यबाट मात्रै जैविक विविधताको महत्त्व जनस्तरसम्म पुराउन आवश्यक रहेको बताउँदै गाउँपालिकाले बन विनाश र दोहन रोक्न, विषादीको अनधिकृत र जथाभाबी प्रयोग गर्न रोक लगाउने जस्ता कुरामा आफ्नो प्रयास हुने बताए ।

डिभिजन बन कार्यालयका सहायक डिएफो गणेश खड्काले पृथ्वी सबैको साझा घर भएको र सबै मिलेर बस्ने वातावरण सृजना हामी सबैले गर्नुपर्ने कुरामा जोड दिए । उनले जैविक विविधता विज्ञ टोलीको साथमा गरिएको नदीको अवलोकनबाट जिल्लामा जैविक विविधताको अवस्था सन्तोष जनक रहेको बताए ।

सो अवसरमा राप्तीसोनारी गाउँपालिका–१ का वडा अध्यक्ष याम बहादुर खड्का, बन विभागका महानिर्देशक डा. राजेन्द्र केसी, उपमहानिर्देशक बिनुकुमारी मिश्र, जेडएसएलका विष्णु थपलिया, इलम परियोजनाका प्रकाश थापा, बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष गेहन्द्रकुमार खड्का, निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना, राप्ती सोनारी गाउँपालिका विपद् व्यवस्थापन शाखालगायतको सहभागिता रहेको टोली कुसुमदेखि रेफ्टिङ्ग गर्दै गाभर पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*