अम्लेखगञ्जमा खानेपानीको हाहाकार
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित ऐतिहासिक अमलेखगञ्जमा पानीको स्रोत नहुँदा स्थानीयले सधैं सास्ती भोग्नुपर्ने बाध्यता छ । वर्षायाममा फुट्ने स-साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुःख अझै बढ्ने गरेको छ ।
वर्षायाममा धमिलो र हिउँदमा सुख्खाका कारण समेत उनीहरूलाई दु:ख हुने गरेको छ । पानी ओसार्न कै लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नु पर्ने उनीहरूको सधैंको बाध्यता बनेको छ ।
१२३ घरधुरी बासिन्दालाई डोकोमा तल खोलाबाट पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता छ । खानेपानीको समस्याकै कारण स्थानीय बासिन्दा खोलाकै पानी खान बाध्य भएका छन् । खानेपानीको अभावमा यहाँका होटेल व्यवसाय समेत संकटमा पर्न थालेका छन् ।
खानेपानीको लागि न त सरकारले कुनै विकल्प खोजेको छ न त स्थानीय सरकारले नै चासो दिएको छ । स्थानीय तथा केन्द्रीय सरकार दुबैले चासो नदेखाए पछि बाध्य भएर खोलाको पानी नै खाने गरेको स्थानीय कृष्ण बहादुर विकले बताए ।
खोला र मुहानको पानी सिधै पिउने गर्दा स्थानीय बिरामी भएका छन् । पिउन सम्म पानीको अभाव रहेको हुदा खोलाको पानी सेवन गर्दा बिरामी समेत हुनु परेको मायादेवी लामाले बताइन् ।
स्थानीयबासीहरुलाई खानेपानी सम्बन्धी समस्या दिन प्रतिदिन बढ्दै गएको छ । चुरे पहाडकै फेदमा रहेको अमलेखगञ्ज बस्तीमा खानेपानीको समस्या र हाहाकार भएको हो । पानी संकलन गर्न नयाँ बिजौरी, पुरानो बिजौरी, ४ नम्बर पुल छेउ र १ नं. मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याइएको थियो ।






















