तारा एयर विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

खबरपथ संवाददाता
१६ जेष्ठ २०७९, सोमबार १६:४३

काठमाडौं ।सरकारले आइतबार तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय जाँच आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन दुर्घटना तथा जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।

आयोगको सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

यो समितलिाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश दिइएको छ ।

मन्त्रिस्तरिय निर्णयअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एनेक्स १३ तथा गैर सैनिक हवाई (दुर्घटना जाँच) नियमावली, २०७१ वमोजिम घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले गैर सैनिक हवाई (दुर्घटना जाँच)नियमावली, २०७१ को नियम ११ वमोजिम आयोग गठन गरिएको हो ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको थासाङ्ग गाउँपालिका २ सानुसरे भन्ने स्थानमा १४ हजार ५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । जहाजमा २२ जना यात्रु सवार थिए । ति मध्ये अहिलेसम्म २० जनाको शव फेला परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*