फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो

खबरपथ संवाददाता
९ असार २०७९, बिहीबार १७:०४

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६ औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८ औँ स्थानमा थियो ।

नेपालले भर्खरैमात्र एएफसी एसियन कप-२३ को तेस्रो चरणको छनोट खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २-० ले, कुवेतसँग ४-१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भएको थियो । सोही प्रदर्शनको आधारमा नेपालको नयाँ वरीयता खस्किएको हो ।

वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।

नेपाल दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा छ । नेपाल एसियाली वरीयताको ३५ औँ स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा भने भारत छ । भारत वरीयताको एक सय चार स्थानमा छ ।

यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५६ औँ स्थानमा, चौथो स्थानमा रहेको भुटान एक सय ८६ औँ, पाँचौँ स्थानमा रहेको बंगलादेश एक सय ९२ औँ, छैटौँ स्थानमा रहेको पाकिस्तान एक सय ९६ औँ स्थानमा र सातौँ स्थानमा रहेको श्रीलंका दुई सय सातौँ स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*