रुपन्देही स्रष्टाकोशको लोकार्पण कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
८ आश्विन २०७९, शनिबार २१:४१

बुटवल ।  साहित्यकार पुरुषोत्तम पाण्डेयको सङ्कलन तथा सम्पादनमा लुम्बिनी वाङ्मय प्रतिष्ठानद्वारा प्रकशित रुपन्देही स्रष्टाकोश लोकार्पण भएको छ ।

स्रष्टाकोशमा रुपन्देहीमा विगत र वर्तमानमा साहित्य  र समालोचनाको क्षेत्रमा क्रियाशील दुई सय सात जना साहित्यकार, उनान्नब्बे जना गायक, सङ्गीतकार, निर्देशक र अभिनयकर्मी तथा सत्चालिस जना चित्रकार तथा मूर्तिकार एवम् छ जना संस्कृतिविद्हरूको व्यक्तिगत र कृतिगत विवरण समावेश गरिएको छ भने  थप ४२ जना स्रष्टाहरूको नामावलीसहित जम्मा तीन सय एकानब्बे जना सर्जकहरूको विवरण समावेश गरिएको छ ।

कृतिको समीक्षा गर्दै डा. शालिकराम पौड्यालले तीन वर्षभन्दा बढी समय लगाएर सङ्कलन र प्रकाशन गरिएको स्रष्टाकोश उपयोगी ग्रन्थ बनेको बताउँदै छुटेका स्रष्टाहरूको विवरण अद्यावधिक गर्नुपर्ने र कृतिलाई अझै ओजिलो बनाउन सर्जकहरूका बारेमा थप विवरण राख्दा उपयुक्त हुने बताउनुभएको थियो ।

कार्यक्रममा स्रष्टाकोशका सङ्ककलक तथा सम्पादक एवम् लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयले स्रष्टाकोश प्रकाशनका लागि साथ, सहयोग र प्रेरणा प्रदान गर्ने शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्दै स्रष्टाकोशमा सबै सर्जकलाई समेट्ने प्रयास गर्दागर्दै पनि समावेश गर्न नसकिएको र आगामी दिनमा समय, परिस्थिति अनुकूल स्रष्टाकोशलाई अद्यावधिक गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै साहित्यकार रुद्र ज्ञवाली, प्राज्ञ बूँद राना, ऋषिराम भुसाल, प्रा.डा. हिरण्यलाल ज्ञवाली, दीप बोर्डिङ हाई स्कुलका उपप्राचार्य कलाधर अर्याल, नेपाल ललितकला प्रतिष्ठानका प्राज्ञ यमबहादुर थापा, गायक तथा सङ्गीतकार सुरेश सेन्चुरी, लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद लगायतले रुपन्देही स्रष्टाकोशले रुपन्देहीको भाषा, कला, साहित्य र संस्कृतिको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार जङ्गबहादुर शाहले रुपन्देही स्रष्टाकोश प्रकाशन हुनु रुपन्देहीका लागि गौरवको कुरा भएको बताउँदै स्रष्टाकोश सर्जकहरूको खोजी र पहिचानमा कोसेढुङ्गा साबित भएको बताउनुभयो ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता, साहित्यकार जङ्गबहादुर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानकी उपाध्यक्ष बिजु पछाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कल्पना कुसुमले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*