रुपन्देही २ मा गठबन्धनका गुरुङ र स्वतन्त्रका निकोलस सहित तीन जनाको उम्मेदवारी खारेज
बुटवल । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ । नेकपा एकीकृत समाजवादीका गुरुङसहित हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको हो । यसले नेकपा एमालेबाट उम्मेदवार रहेका विष्णु पौडेललाई निर्वाचन लड्न सहज हुने भएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। २ का सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति ११ बजेपछि जारी गरेको सूचनामा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड ९ङ० वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले तीनैजनाको उम्मेदवारी खारेज भएको उल्लेख छ ।
गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।
यस्तै कमल भुसाल नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो ।






















