नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छैटौं दिन श्रीलंका र भारतको नाटक हुँदै

खबरपथ संवाददाता
१४ मंसिर २०७९, बुधबार १३:५८

काठमाण्डौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौं दिन भारत र श्रीलंकाको दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगितिक प्रस्तुतिसहितको कार्यक्रम आयोजना हुँदैछ ।

इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदैछ । छायाँ नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाएको छ । नाटकले आघातबारे अन्तरक्रियामा आधारित अभ्यासहरुको उपयोग गर्दै छाँया माध्यमद्वारा नाट्य थेरापीको प्रयास समेत गर्दछ ।

‘स्याडो लिवेरेसन’ दिउँसो २ र साँझ ६ बजे मण्डला स्टुडियोमा मञ्चन हुँदैछ । त्यस्तै दिउँसो २ बजे मण्डला नाटकघरमा श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ ।

‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथाहरु सुनाउनछन् । जब सबै पात्रहरुले आफ्नो नियतीको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीन मध्य श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ ।

त्यस्तै महोत्सवमा बुधबार मध्यन्ह १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदैछ । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको सो नाटक केही महिना अघि मण्डला नाटकघरमा मञ्चन पनि भएको थियो । विमोचन लगत्तै ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिसकसन हुनेछ । जसमा साहित्यकारहरु नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मीहरु विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार बसन्त बस्नेतले वार्ता गर्नेछन् ।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकारहरु हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगितिक प्रस्तुति दिनेछन् ।

मंगलबार के के भए ?

निटफेस्टमा मंगलबार अमेरिकी अडियो नाटक ‘ट्रि कन्फेसन’ प्रस्तुत भएको थियो । त्यस्तै उरुग्वेको नाटक ‘रियो’ र नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को मञ्चन भएको थियो । साथै साँझमा नृत्य प्रस्तुति ‘पाइतालाका यात्रा’ प्रस्तुत भएको थियो ।
मंसिर १७ सम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन तथा, अन्तरक्रिया कार्यक्रम, कार्यशाला, सेमिनार हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*