तिलोत्तमा मेलाको सेल्फीजोनमा दर्शकको आकर्षण

खबरपथ संवाददाता
१९ मंसिर २०७९, सोमबार १९:३८

रुपन्देही । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा बनाइएका सेल्फीजोनमा दर्शकको आकर्षण बढेको छ । मेला स्थलमा बनाइएका एक दर्जन सेल्फीजोनमा दर्शकहरुले आलोपालो फोटो खिच्न कुरिरहेका देखिन्थे ।
मेलामा आकर्षण बढाउन एकदर्जन सेल्फीजोन बनाइएको मेला मुल आयोजक समितिका संयोजक प्रेम जीएमले बताए । उनका अनुसार मेलामा प्रवेश गर्ने धेरैजसो दर्शक उपभोक्ताले सेल्फीजोनमा फोटो खिच्ने र टिकटक बनाउने गरेका छन् । सेल्फीजोनमा फोटो खिचाउदै गरेकी शंकरनगरकी करुणा शाहीले भनिन्, ‘मेलामा सेल्फीजोनहरु राम्रो लाग्यो, टिकटक बनाउन सजिलो भयो ।’
यसैबीच सोमबार मेलामा चर्चित गायक पुस्कल शर्मा, विष्णुु सिंजाली, गायिका रितु थापा, सम्झना रणपाल, डान्सर प्रिती पाशवान, बिनिता शाही लगायतले दर्शकलाई मनोरन्जन दिलाएका थिए । त्यस्तै मेलामा विद्यालय स्तरीय नृत्य प्रतियोगितमा पनि चलिरहेको मेलाका सांस्कृतिक उपसमितिका संयोजक युवराज पराजुलीले जानकारी दिए । सोनी डान्स गु्रपको पनि विषेश प्रस्तुति रहेको उनले बताए । उद्घोषक तथा गायक दिपु मगर र खेमराज रेग्मीले पनि दर्शकलाई मनोरन्जन दिलाए ।
उनका अनुसार मेलामा मंगलबार लोकप्रिय गायक खेम सेन्चुरी, बसन्त लम्साल, गायिका तथा मोडेल सबिता कार्की, लालमाया थापा, दुर्गा गुरुङ लगायतले दर्शकलाई मनोरन्जन दिनेछन् । त्यस्तै नाइट कन्सर्टमा गायिका प्रिती आले, डीजे ब्याण्ड लगायतको प्रस्तुति रहनेछ । सोनी डान्स ग्रुपको पनि प्रस्तुति रहनेछ ।
तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गत विहीबारदेखि शुरु भएको मेलामा सोमबार पनि दर्शक उपभोक्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले बताएका छन् । मेलाको सह-आयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए ।
मेलामा मंसिर २१ देखि २३ गतेसम्म महिला कुस्ती प्रतियोगिता हुने र २४ गते ब्याडमिन्टन प्रतियोगिता हुने खेलकुँद उपसमिति संयोजक विवश थापाले उल्लेख गरे । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*