आज पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम गरी देशभर मनाइँदै, सार्वजनिक बिदा
काठमाडौं । आज पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी आज मनाउन लागिएको हो।
यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्नुभएको थियो ।
पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गर्नुभएको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभयो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभयो। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औं जन्मजयन्ती मनाइँदैछ ।
यसैबीच पृथ्वीजयन्तीको अवसरमा गोरखाबाट काठमाडौं आएको एकीकरण पदयात्रासहितको ¥यालीलाई आज हनुमानढोकास्थित शार्दूल जंग गणले बाजागाजासहित नगर परिक्रमा गराउँदैछ । त्यसपछि सैनिक मुख्यालय जंगीअड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।





















