बौद्ध र सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । सोमबार लुम्बिनीमा आयोजित एक कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको हो ।
सहमति पत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र सिद्धार्थ विश्वविद्यालयका रजिष्ट्रार डा. अमेन्द्र कुमार सिंहले हस्ताक्षर गर्नुभयो । शैक्षिक तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने, पाली तथा संस्कृत भाषाको अध्ययन अनुसन्धान तथा शिक्षक विद्यार्थी आदान प्रदान गर्ने सहकार्यको उद्धेश्य रहेको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले दुई विश्वविद्यालयको सहकार्यले प्राज्ञिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । ‘प्राज्ञिक अनुभवको आदान प्रदान र अनुसन्धानमा दुई विश्वविद्यालयबीच निरन्तर सहकार्य हुने विश्वास छ, उहाँले भन्नुभयो ।
त्यस्तै सिद्धार्थ विश्वविद्यालयका उपकुलपति हरिबहादुर श्रीवास्तवले विश्वविद्यालयबीचको अनुभव आदान प्रदानले प्राज्ञिक विकासमा महत्वपूर्ण टेवा पुग्नुका साथै दुई देशबीचको सम्बन्ध पनि मजबुद बन्दै जाने बताउनुभयो । ‘हामी एकअर्काका शिक्षक, विद्यार्थी आदानप्रदानमा सहकार्य गर्नेछौं, उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध दर्शन, पुरातत्व क्षेत्रको अध्ययन अनुसन्धानमा केन्द्रीतर बौद्ध विश्वविद्यालयले प्राज्ञिक कार्य गरिरहेको बताउँदै अध्ययन अनुसन्धानलाई सहकार्यमा अघि बढाउन सकिने बताउनुभयो । ‘पाली, संस्कृत भाषासहित बौद्ध ग्रन्थहरुको अध्ययन अनुसन्धानमा सहकार्यमा काम गर्ने अवसर मिल्दा हामी उत्साहित छौं, उहाँले भन्नुभयो ।
सिद्धार्थ विश्वविद्यालयका रजिष्ट्रार डा. अमेन्द्र कुमार सिंहले बौद्ध विश्वविद्यालय र सिद्धार्थ विश्वविद्यालयको सहकार्यले दुई देशलाई अझ मजबुद रुपमा जोड्न सकेको बताउनुभयो । ‘हामी छिमेकमै रहेका छौं, प्राज्ञिक कार्यमा धेरै सहकार्य गर्न सकिन्छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा सिद्धार्थ विश्वविद्यालयबाट उकुलपति श्रीवास्तवको नेतृत्वमा रजिष्ट्रार सिंह, डिन प्रा. हरिश कुमार शर्मा, प्रा. शुशिल तिवारी, डा. निता यादव, डा. अभिनाष प्रताव सिंह, प्रा. मञ्जु द्विवेदीसहितको टोली लुम्बिनी बौद्ध विश्वविद्यालयमा आउनुभएको थियो । कार्यक्रममा बौद्ध विश्वविद्यालयका डिन डा. माणिकरत्न शाक्य, डा. हरिशरण चखुं, अनुसन्धान निर्देशक प्रा.डा. गितु गिरी, प्रा. बसन्त विडारी, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, केन्द्रीय क्याम्पस प्रमुख निरबहादुर गुरुङ, सहायक क्याम्पस प्रमुख डा. शारदा पौडेल, शाखा अधिकृत चुरामणि पोखरेलको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शाखा अधिकृत गजेन्द्र गुप्ताले गर्नुभएको थियो ।





















