स्थापना दिवसमा नेपाली सेनाको टुँडिखेलमा विशेष समारोह
बुटवल । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६० औँ स्थापना दिवस मनाएको छ ।
सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, का।मु। प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नु भएको थियो । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो ।
सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाज लगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति दिएको थियो ।
नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ ।























