बौद्ध विश्वविद्यालयका सभासमारोहमा बुद्ध बन्दना र मूर्ति अनिवार्य

खबरपथ संवाददाता
११ फाल्गुन २०७९, बिहीबार १९:१२

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्को बुधबार बसेको बैठकले बुद्ध बन्दना र बुद्धमूर्तिलाई अनिवार्य गरेको हो । बौद्ध विश्वविद्यालय स्थापनाको उद्देश्य अनुरुप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवद्र्धनका लागि सभासमारोहमा बुद्ध बचनको प्रार्थना र बुद्ध मूर्ति अनिवार्य गरेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यको अध्यक्षतामा बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयका सम्पूर्ण निकाय तथा विश्वविद्यालयसंगको सहकार्य वा सहयोगमा हुने जुनसुकै औपचारिक सभा, समारोह, बैठकहरुमा बुद्ध बन्दना वाचन अनिवार्य गरिएको हो । सभासमारोह स्थलको अग्रभागमा बुद्धमूर्ति अनिवार्य राखिने निर्णय समेत विश्वविद्यालयको गरेको छ ।
बौद्ध विश्वविद्यालय कार्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अबलम्बन गरेको छ । बुद्धका सन्देशहरुको ज्ञान तथा अनुशरणमा जोड दिदै लैजाने नीति विश्वविद्यालयको १४ औंसभाले लिएको थियो ।
बौद्ध विश्वविद्यालयमा हाल बौद्ध दर्शनमा रहेर स्नातक तथा स्नातकोत्तर तहका कक्षाहरु सञ्चालनमा रहेका छन् । स्नातकोत्तर तहमा बौद्ध दर्शन, आर्काेलोजी एण्ड आर्काेलोजिकल साइट्, म्युजोलोजी लगायतका कार्यक्रम सञ्चालनमा रहेका छन् । स्नातक तहमा भोद्ध बौद्ध अध्ययन केन्द्रीय क्याम्पसमा चलिरहेको छ । त्यस्तै व्यवसायिक विषयतर्फ स्नातकोत्तरमा एग्रो फोरेष्ट्री, डेभलपमेन्ट स्टडिज, इन्भारोमेन्ट साइन्स तथा स्नातक तहमा बीएएलएलबी, बिटिटिएम, बीएआरडी लगायतका कार्यक्रम सञ्चालनमा छन् ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पस लुम्बिनी, बुटवल सिटी क्याम्पस तथा देवदहमा स्कुल अन्तर्गत शैक्षिक कार्यक्रम चलिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*