४१ औ मगर दिवस मनाइदै, सार्वजनिक विदा दिन माग
बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४१ औ मगर दिवस (फागुन १५) विभिन्न रचनात्मक कार्यक्रम सहित मनाउने भएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले शुक्रबार बुटवलमा पत्रकार भेट्घाट गर्दै सो कुराको जानकारी दिएको हो । नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरेमगरका अनुसार फागुन १३ गते बुटवल उपमहानगरपालिका वडा नं १५ उजेलापुर स्थित अपाङ्ग आश्रममा फलफूल तथा खाद्यान्न वितरण गर्ने, फागुन १५ गते बुटवल–७ दीपनगर स्थित मगर बाजेबजै पितृ थानमा ४१ औं मगर संघ स्थापना दिवस विभिन्न सास्कृतिक झाँकी र ¥यालीका साथमा मगर खाना परिकार प्रदर्शनी सहित मूल समारोहको आयोजना गरि मनाइने भएको छ ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष साठिघरेका अनुसार मूल समारोह लुम्विनी प्रदेश सरकारका सभामुख तुलाराम घर्तीमगर (बसन्त) को प्रमूख आतिथ्यतामा मगर समुदायका प्राचिन मौलिक नृत्यहरु ठूलो नाच सोरठी, कौडा, घाटु र सालैजोको प्रस्तुती सहितको कार्यक्रम तय भएको छ । कार्यक्रममा वितरित विज्ञप्ति अनुसार मगर समुदायका विभिन्न मौलिक सास्कृतिक पर्वहरु र मगर दिवस फागुन १५ को अवसरमा राष्ट्रिय रुपमा सार्वजनिक विदा दिन समेत माग गरिएको छ ।
मगर समुदायको पहिचान संरक्षण, विद्यालयमा मगर भाषामा पठनपाठन तथा सरकारी कामकाजी भाषाको रुपमा स्वीकृती, राज्यको हरेक क्षेत्र र संरचना र नियुत्तिमा पूर्ण समानुपातिक समावेशी नीति लागु गर्नु पर्ने लगायतका कुराहरु राज्यले सम्बोधन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसबाहेक विज्ञप्तिमा नेपालका प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, आई. एल. ओ. १६९ लगायतका नेपाल पक्ष राष्ट्र रहेका अन्तराष्ट्रिय सन्धी सम्झौताहरुको कार्यान्वयन गर्नुपर्ने समेत जोेड्दार माग गरिएको छ ।
कार्यक्रममा नेपाल मगर संघ लुम्विनी प्रदेश सदस्य गोपाल बहादुर चोहानमगर, नेपाल मगर संघ रुपन्देही जिल्ला अध्यक्ष आन बहादुर सोतीमगर, नेपाल मगर संघ रुपन्देही जिल्ला सचिव तथा नेपाल मगर संघ बुटवल उपमहानगर समितिका निवर्तमान अध्यक्ष थर्क बहादुर बारघरेमगर लगायतले आफ्नो धारणा राख्दै बहुसंख्यक मगर समुदायको सांस्कृतिक र मौलिक पक्षलाई संरक्षण र संम्बर्धनका लागि राज्यले उचित ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । कार्यक्रम संघका उपाध्यक्ष लुम बहादुर सारुमगरको स्वागत तथा सचिव हेमन्त बुढाथोकी मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले एक विज्ञप्ति जारी गर्दै मगर दिवस फागुन १५ को अवसरमा सार्वजनिक विदा दिन माग गरेको छ । नेपाल मगर संघ जिल्ला समितिका सचिव थर्क बहादुर बारघरेद्वारा जारी विज्ञप्ति अनुसार फागुन १५ गतेका दिन यस क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारी निकाय, सार्वजनिक सेवा प्रवाह क्षेत्र लगायत शैक्षिक संस्थाहरुमा विदा दिन अपिल गरिएको हो । फागुन १५ गते मगर समुदायका मौलिक परम्परा र सास्कृतिक सवालहरुमा विचार विमर्श, मगर समुदायका नयाँ र पुराना पुस्ताका बीचमा सास्कृतिक र मौलिक ज्ञानको सामूहिक आदान प्रदान तथा भेट्घाट गर्ने दिन भएकाले यो अवसर एक नागरिकको हैसियतमा सबैले पाउनु पर्ने संघको जिकिर छ । आफ्नो मौलिक भाषा, धर्म, संस्कार र रीतिरीवाज संरक्षण, सम्बर्धन र पुस्तान्तरणको अधिकार हरेक नागरिकको मौलिक अधिकार रहेकाले यस दिन राज्यले सार्वजनिक विदा नै दिएर मगर समुदाय माथि न्याय गर्नुपर्ने कुरामा संघले जोड दिएको छ ।






















