सुरु भयो होली पर्व, बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइयो
काठमाडौं । काठमाडौंको बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सोमबार तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व शुरु भएको मान्ने गरिन्छ ।
फागुन शुक्ल अष्टमीका दिन ठड्याइने चीर उठाएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।
आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होली मनाइँदैछ ।





















