मगर समुदायले आज ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाउँदै
काठमाडौं । मगर समुदायले आज ४१ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।
स्थापना दिवस परम्परागत भेषभुषासहितको ¥याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने नेपाल मगर संघका सचिव हेमन्त बुढाथोकीले बताए ।
२०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।
केही पालिकाहरुले फागुन १५ गते सार्वजनिक विदा दिने निर्णय गरेका छन् । रुपन्देहीजिल्लाको बुटवलउपमहानगरपालिका , तिलोत्तमा नगरपालिका र देवदहनगरपालिका ,तनहुँको म्याग्दे गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिका त्यसैगरी गुल्मी जिल्लाका चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
मगर समुदायले फागुन १५ गते सार्वजनिक विदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।





















