नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

खबरपथ संवाददाता
१० चैत्र २०७९, शुक्रबार ११:५५

काठमाण्डौं ।  नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको हो । शुक्रबार सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्नुभएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

यस अघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो।

विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो।

राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ।

सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा पाँच हजार ६८५ जना मानिस छन् ।

भौगोलिक क्षेत्र अनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (एक करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ ।

प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*