अन्तर्राष्ट्रिय पिस म्याराथनमा आर्मीका खगेन्द्र भाट प्रथम

खबरपथ संवाददाता
२३ चैत्र २०७९, बिहीबार २०:०१

लुम्बिनी । लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसर पारी शान्तिको कामना गर्दै विहिबार पहिलो पटक लुम्बिनी प्रदेश खेलकूद परिषद् र नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय पीस म्याराथन लुम्बिनीमा सम्पन्न भएको हो ।

म्याराथनमा नेपाली सेनाका खगेन्द्र बहादुर भाट प्रथम भएका छन् । उनले २ घण्टा ४० मिनेट ५७ सेकेण्डमा दूरी पार गरेका थिए । २ घण्टा ४२ मिनेट ०१ सेकेण्ड लिदै नेपाल प्रहरीका करण खड्का दोश्रो तथा २ घण्टा ४४ मिनेट २५ सेकेण्ड समय लिँदै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भएका छन् । खेलकूदको माध्यमबाट लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन आयोजना गरिएको लुम्बिनी प्रदेश खेलकूद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

म्याराथन कपिलवस्तुको तिलौराकोट दरबारबाट बिहिबार बिहान सवा ८ बजे सुरु भई लुम्बिनीको शान्ती दीप रहेको गेट अगाडि सम्म आएर टुंगिएको थियो । प्रतियोगितामा ३३ पुरुष धावकको सहभागीता रहेको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताउनुभयो । यो वर्षको प्रतियोगिता समापनसंगै २ सय ७ राष्ट्रका ओलम्पिक कमिटीलाई अर्को वर्षको प्रतियोगिताका लागि समेत निमन्त्रणा गरिनेछ । म्याराथनमा प्रथम हुनेले १ लाख, द्वितीयहुने ले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरेको लुम्बिनी प्रदेश खेलकूद परिषदका सदस्य सचिव भट्टराईले जानकारी दिनुभयो ।

बिजेता खेलाडीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन, ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषदका पदाधिकारीहरुले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*