लुम्बिनी विकास कोषको नीति कार्यक्रम र बजेट पेश, सम्पदाहरुको मौलिक खोजी गरि संरक्षण गरिन्छ : मन्त्री किराँती

खबरपथ संवाददाता
९ श्रावण २०८०, मंगलवार ०७:५५

लुम्बिनी । लुम्बिनी विकास कोषको आर्थिक वर्ष ०८०/८१ को नीति कार्यक्रम तथा बजेट परिषद बैठकमा पेश भएको छ । कोष ऐन २०४२ अनुरुप परिषदबाट नीति कार्यक्रम र बजेट पेश गर्ने प्रावधान अनुसार सोमबार लुम्बिनीमा बसेको परिषद बैठकमा नीति कार्यक्रम र बजेट पेश भएको हो ।

संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री एंव लुम्बिनी विकास कोषका अध्यक्ष सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष भिक्षु मैत्तयले आर्थिक वर्षको प्रगति, कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रम र सदस्य सचिव सानुराजा शाक्यले नीति कार्यक्रम परिषदमा पेश गर्नुभएको हो । कोषाध्यक्ष भट्टराईले नेपाल सरकारतर्फको ४५ करोड र आन्तरीक तर्फ २३ करोड ३ लाख बराबरको बजेट प्रस्ताव परिषदमा पेश गर्नुभएको छ ।

परिषद बैठकमा मन्त्री किराँतीले बुद्धजन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको मुहानका रुपमा विकास गर्ने गरि कार्य योजना सहित काम गर्न आग्रह गर्नुभएको थियो । परिषदको बन्दसत्र अघि उद्घाटन सत्रमा मन्त्री किराँतीले किराँतीले पुर्खाहरुले जोगाएको सम्पदाहरुको खोजी गरि संरक्षण गर्ने बताउनुभयो ।

सम्पदाहरुलाई सँस्कृती र प्रकृतीमैत्री रुपमा विकास गर्नुपर्ने उहाँको भनाई छ । मन्त्री किराँतीले गौतमबुद्धले विश्व शान्तिका लागि वैचारिक रुपमा क्षेप्यास्त्र संसारभर फैलाएको बताउनुभयो । उहाँले लुम्बिनीलाई विश्वशान्तिको रुपमा विकास गर्ने गरि नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मन्त्रालय समालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको बताउँदै अब लुम्बिनीको विकासका लागि एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । परिषद बैठकको उद्घाटनसत्रमा संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले बुद्धजन्मस्थल लुम्बिनीलाई सुगन्धको रुपमा विश्वसामू चिनाउनुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी पवित्र स्थलका रुपमा विकास गर्नका लागि सबैपक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिनुभयो । राज्यमन्त्री ठकुरीले गौतम बुद्धकै कारण नेपाल देशको परिचय विश्वभर भएकाले लुम्बिनीलाई कसैको स्वार्थमा राख्न नहुने बताउनुभयो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले कोषमा रहेका विभिन्न नीतिगत समस्याहरु हल भएको र गुरुयोजनाका कामहरु पूरा हुने चरणमा रहेको बताउनुभयो । उहाँले गुरुयोजनाको काम अबको ३ बर्षमा सम्पन्न हुने र त्यसका लागि ३ अर्ब बजेट आवश्यक पर्ने बताउनुभयो । बैठकमा सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव राजन केसी, सहित कोषका पदाधिकारी, कार्यकारिणी सदस्य, परिषद सदस्यहरुको सहभागिता थियो । परिषद बैठकमा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका, लेखा निर्देशिका २०८०, विद्युतीय गाडी सञ्चालन सम्बन्धी कार्यविधि तथा प्रतिवेदन २०७९ समेत पेश गरिएको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*