लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिमा टुंग्याउन अध्यक्ष ओलीको निर्देशन

खबरपथ संवाददाता
१६ भाद्र २०८०, शनिबार २०:४३

बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुंगाउन निर्देशन दिएका छन् ।
शनिबार बुटवलमा आयोजित एमाले लुम्बिनी प्रदेश अधिवेशन उदघाटन गर्दै अध्यक्ष ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्ग्याउन निर्देशन दिएका हुन् ।

प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने उनले बताए । लुम्बिनी प्रदेशका धेरै नेताहरू पार्टीको सचिवालयमा रहेको भन्दै अध्यक्ष ओलीले आजै राति बसेर सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिए । ‘पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली आउनुभएको छैन, विष्णु पौडेल हुनुहुन्छ, महासचिव शंकर पोखरेल काम विशेषले बाहिर जानुभएको छ, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा जस्ता नेता यही हुनुहुन्छ, प्रदेशकी इन्चार्ज केन्द्रीय सचिव पद्‍मा अर्याल पनि हुनुहुन्छ, तपाईहरु आजै साँझ बस्नुस् र नेतृत्वबारे सहमति गर्नुस्’ ओलीले निर्देशन दिए ।

अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा नेतृत्व दाबी नगर्न निर्देशन दिँदै कसैको आशिर्वादले नभई आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताए ।  लुम्बिनीबाट सिंगो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्नेमा ओलीले जोड दिए ।

‘तपाईंहरू बस्नुस् कुरा टुंगाउनुस, सबै सहमतिमा बाहिर आउनुपर्छ । यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस् । यो पार्टीको क्लियर कुरा हो । तपाईँहरूले आज बसेर सहमति गर्नुस् म भोलि घोषणा गर्छु ।

लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल र प्यूठानका हरि रिजाल आकांक्षी छन् । कँडेल वर्तमान अध्यक्ष समेत हुन् । अधिबेशन अन्तर्गत आइतबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*