एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि मतदान सम्पन्न, ९६५ मत खस्यो

खबरपथ संवाददाता
१९ भाद्र २०८०, मंगलवार १५:३१

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागी मतदान सम्पन्न भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मतदानमा कूल १००४ मतदाता मध्ये ९६५ मत खसेको निर्वाचन समितिका संयोजक हरि प्रसाद भण्डारीले जानकारी दिए ।

शुक्रबारदेखि बुटवलमा जारी प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मतदान प्रक्रिया आज (मंगलबार) बिहान पौने ९ बजेदेखि शुरु भएको थियो ।

लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल प्रतिस्पर्धामा रहेका छन् ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), बाँकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली छन् । उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु (चौधरी) छन् । त्यस्तै, उपसचिव महिला तर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला राना मगर छन् ।

उम्मेदवारी दिएकामध्ये कँडेल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका भोज प्रसाद श्रेष्ठ र उपसचिव पुरुषमा दुर्गाबहादुर चौधरी र महिलामा लिला राना मगर रहेका छन् । त्यस्तै, रिजाल प्यानलबाट उपाध्यक्षमा रुपन्देहीका विश्वराज बराल, उपसचिव पुरुषतर्फ रोल्पाका पूर्ण बुढामगर र महिलातर्फ बाँकेकी बसन्ती अधिकारी छन् ।  सचिव दुवै प्यानलको समर्थनमा दाङका लक्ष्मण आचार्य निर्विरोध भएका हुन् ।

पदाधिकारीमा ५ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा प्यानल बाहिरबाट बाँकेका पूजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेवारी दिएका छन् । त्यस्तै, उपसचिव पुरुषमा रुकुम पूर्वका उपेन्द्रलाल कामी र महिला उपसचिवमा बाँकेकी आरती पौडेलले प्यानल बाहिरबाट उम्मेवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*