तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रस्तावित मनोनयन दस्तावेज पेश गरिने
लुम्बिनी । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि यहि सेप्टेम्बर ३० भित्र प्रस्तावित मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश गरिने भएको छ ।
तिलौराकोट कपिलबस्तुलाई सम्भावित विश्व सम्पदा सूचीमा सुचीकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखि सरकारी तथा सरोकारवाला निकायहरुबाट चाहिने आवश्यक सहयोग साधन, श्रोतको सुनिश्चिता सरलता र मार्गनिर्देशका लागि गठित निर्देशक समितिको मंगलबार लुम्बिनीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष एंव निर्देशक समितिका संयोजक संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्धारा तयारी गरी अन्र्तराष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलद्धारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेजको मस्यौदालाई पेश गर्ने निर्णय गरिएको हो ।
विश्व सम्पदा महासन्धि अनुसार सेप्टेम्बरभित्र तयार मस्यौदा मनोनयन दस्तावेज पुरातत्व विभाग हुँदै सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत विश्व सम्पदा केन्द्रमा पेश गरिने लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक एंव मनोनयन दस्तावेज तयारीका संयोजक ज्ञानिन राईले जानकारी दिए । अन्तिम मनोनयन दस्तावेज नेपाल सकारले स्न २०२४ को फेब्रुअरी १ तारिख अगावै पेश गर्नुपर्ने यूनेस्को महासन्धिमा उल्लेख छ ।
यूनेस्को जापानीज फण्ड इन ट्रष्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङघमको नेतृत्वमा सन् २०१४ देखि गरेको बैज्ञानिक पुरातात्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरु जुटाएको थियो ।
बैठकमा कोषका उपाध्यक्ष एंव निर्देशक समितिका संयोजक डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि आवश्यक प्रक्रियागत कामहरु पूरा गर्नका लागि कोषका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
विश्व सम्पदा महासन्धिले तोकेको मापदण्ड र आधार पूरा गरेर शाक्य गणराज्यको राजधानी तिलौराकोट कपिलबस्तुलाई सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रियागत कामहरु गर्न निर्देशक समितिले निर्णय गरेको लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक राईले जानकारी दिए । उनले सरकारले २०७८-७९ को नीति तथा कार्यक्रम मार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि नीति कार्यक्रम र बजेटमा राखिएको उल्लेख गर्दै अब सुचीकृतका लागि प्रक्रियागत कामहरु मात्रै बाँकी रहेको बताए । सिद्धार्थ गौतमका रुपमा बुद्धले २९ वर्ष विताएको तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सुचीकृतका लागि आवश्यक पर्ने प्रमण र आधारहरु अन्र्तराष्ट्रिय र राष्ट्रिय विज्ञहरुले पुष्टि गरिसकेको उनको भनाई छ । विश्वसम्पदा सूचीमा सूचीकृतका लागि विश्व सम्पदा केन्द्रको मुख्य कार्यालय फ्रान्स सहित विश्व सम्पदा केन्द्रका सदस्य राष्ट्रहरुमा तिलौराकोट कपिलबस्तु सुचीकरणका लागि प्रचार प्रसार र लविङका कार्यक्रमहरु गर्ने समेत बैठकले निर्णय गरेको छ ।
निर्देशक समितिको बैठकमा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव दामोदर गौतम, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, निर्देशक समितिका सदस्य सचिव एंव कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, पुरातत्व विभाग विश्व सम्पदा शाखा प्रमुख रमेश पौडेल, कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, बोर्ड सदस्य गोपीकृष्ण शर्मा लगायतको उपस्थिती रहेको थियो । तिलौराकोट विश्वसम्पदा सूचीमा सुचीकृत भए यो लुम्बिनीपछिको सबैभन्दा महत्वपूर्ण सम्पदा क्षेत्र बन्ने छ ।
विश्व सम्पदा समितिको ४५ औं बैठकमा तिलौराकोट कपिलबस्तु सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम यस अघि यहि सेप्टेम्बर १० देखि २५ तारिखसम्म साउदी अरबको रियादमा भएको विश्व सम्पदा समितिको ४५ औं बैठकमा समेत तिलौराकोट कपिलबस्तुको बारेमा व्यापक प्रचार प्रसार र प्रवद्धनात्मक कार्यक्रम गरिएको छ ।
सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव भरतमणि सुवेदीको नेतृत्वमा नेपालबाट गएको टोलीले यूनेस्कोको डेपुटी डाइरेक्टर ज्योति होसाग्राह, यूनेस्को एसिया प्यासिफिक प्रमुख हिमालचुली गुरुङ सहित बेलायत, भारत, पाकिस्तान, जापान, कोरिया, अष्ट्रेलिया, जोर्डन, मलेसिया लगायत देशका राजदूत र उच्च तहका अधिकारीहरुको उपस्थितीमा तिलौराकोट कपिलबस्तु विश्व सम्पदाका बारेमा विफ्रिङ गरिएको थियो । सेप्टेम्बर १७ तारिखका दिन करिव २ घन्टासम्म साईड बैठकमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञ प्रोफेसर रविन कनिङघमले प्राचिन गणराज्य तिलौराकोट शहर कपिलबस्तुबारे प्रस्तुती राखेका थिए । बैठकमा साउदी अरवका लागि नेपालका महामहिम राजदुत नवराज सुवेदी सहित राजदुतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
४५ औं विश्व सम्पदा समितिको बैठकमा गरिएको साईड बैठकले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकरणका लागि प्रभावकारी रुपमा सन्देश प्रवाह गरेको बैठकमा सहभागी कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बताए । उनले नेपालका तर्फबाट लुम्बिनी र तिलौराकोट कपिलबस्तुको सम्पदाबारे व्यापक प्रचार–प्रसार र प्रवद्र्धनको काम समेत गरेको बताए । सम्पदा बैठकमा नेपालका तर्फबाट मन्त्रालयका सचिव सुवेदी सहित पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, विश्व सम्पदा शाखा प्रमुख रमेश पौडेल, अन्तर्राष्ट्रिय विज्ञ प्राध्यापक रविन कनिङघम, लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती सहभागी भएका थिए ।





















