मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल

खबरपथ संवाददाता
१५ आश्विन २०८०, सोमबार १८:५०

बुटवल । बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल भएको छ।
बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो।
उहाँले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने विश्वास दिलाउनुभयो। उहाँले २०२२ सालदेखि बसोबास गरिरहेकाहरुको समस्याको समाधान गरेर औद्योगिक क्षेत्र निर्माण गर्नका लागि ड्रोनबाट जग्गा नापजाँच गरिएको भन्दै सोहीअनुसारको जग्गा यकिन गरी निर्माणको काम अगाडि बढाउनुपर्ने बताउनुभयो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तहहरुबाट भएको पहल सकारात्मक भएपनि संघीय सरकारले गर्नुपर्ने काम बाँकी रहेको बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले औद्योगिक क्षेत्र निर्माणका लागि सबैको चासो र समन्वयअनुसार अगाडि बढाउनका लागि स्थानीय प्रशासन तयार रहेको बताउनुभयो।
कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश अधिकारीले मोतीपुर औद्योगिक क्षेत्रको जानकारी सहितको प्रस्तुति गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*