नेपालगञ्जमा दिनभरिका लागि कर्फ्यू हट्यो, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

खबरपथ संवाददाता
१८ आश्विन २०८०, बिहीबार ११:५२

बाँके। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा गत मंगलबारदेखि लगाइएको कर्फ्यू हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार एक सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आज बिहान ८ बजेदेखि कर्फ्यू हटाइएको जनाएको छ ।

आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने फेरि कर्फ्यू लगाइएको छ । कर्फ्यू हटे पनि नेपालगञ्जमा निषेधाज्ञा भने जारी छ।

स्थानीय प्रशासनले कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न, पोस्टरलगायत प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँ ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ ।

सामाजिक सञ्जालमा लेखिएको एउटा स्टाटसका कारण नेपालगञ्जमा हिन्दु र मुस्लिम धर्मालम्बीहरूबीच तनाव देखिएको थियो। तनावले उग्र रूप लिने सम्भावना बढेपछि प्रशासन गत मंगलबारदेखि कर्फ्यू लगाएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*