इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु : मंगलबार राष्ट्रिय शोक घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं। इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकोमा सरकारले राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ‘यस अकल्पनीय घटनामा दिवंगत भएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ,’ ।
घटनामा निधन भएका १० जना नेपालीको शव तत्काल ल्याउने पनि उनले बताइन् ।
सरकारले इजरायलमा रहेका नेपालीहरूलाई उद्धार गरी स्वदेश ल्याउने निर्णय पनि गरेको छ।





















