नेपालको चार दिने भ्रमण पूरा गरी फर्किए महासचिव गुटेरेस
काठमाडौं । नेपालको चार दिने भ्रमण पूरा गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन् । गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् । भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने काममा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए ।
त्यसअघि सोही दिन दिउँसो लुम्बिनी क्षेत्रको भ्रमण गरी उनले विश्व शान्तिमा नेपालको योगदानको चर्चा गर्दै युद्धरत मुलुकहरुलाई शान्ति कायम गर्न आह्वान गरेका थिए ।
नेपालमा रहँदा उनले सगरमाथाको आधार शिविर अन्नपूर्ण पदमार्गसमेत भ्रमण गरे । त्यहाँबाट उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका असरको विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।





















