पत्रकार महासंघ रुपन्देही शाखाद्धारा भूकम्प प्रभावित सञ्चारकर्मीका लागि सहयोग प्रदान

खबरपथ संवाददाता
२४ कार्तिक २०८०, शुक्रबार १३:४९

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा प्रत्यक्ष रुपमा प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमको राहातका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले एक विज्ञप्ती जारी गरी जनतालाई निरन्तर सूचना र समाचार प्रवाह गर्ने पत्रकार, सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपदको बेला राहात स्वरुप नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका तर्फबाट केन्द्रीय समितिले आह्वान गरेको प्रभु बैंकमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको उल्लेख छ । महासंघ केन्द्रको आह्वान र जिल्ला शाखासँगको समन्वयमा विपदमा साथ दिने उदेश्यले रुपन्देही शाखाका तर्फबाट सबै जिल्लालाई सहयोगका लागि अपिल गर्दै सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष पोख्रेलले बताए ।

भुकम्पले सबैलाई क्षती गराएको भएपनि निरन्तर सूचना प्रवाहमा खटिएका सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्तकाल राहातका लागि सहयोग गरिएको सचिव परियारले बताए । महासंघले विपदमा सहयोगका लागि शुभेच्छुकहरुलाई सहयोगका लागि जिल्ला शाखाका तर्फबाट अपिल समेत गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको प्रभु बैंकमा रहेको ०१८००१९४७०१०००१२ खाता नम्बरमा जम्मा गर्न आह्वान गरेको छ ।
प्रारम्भिक विवरणमा जाजरकोट र रुकुम पश्चिममा ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षती भएको छ ।
यस्तै शुक्रबार बसेको बैठकले नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसँगको सहकार्यमा स्थापना गरेको ‘उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७९’ महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा अर्थविद मनिकर कार्की र रुपन्देही उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल रहेको मूल्यांकन समिति गठन गरेको छ ।
यस्तै रुपन्देहीको भैरहवालाई कर्मथलो बनाई विगत २० बर्षदेखि क्रियाशिल पत्रकारिता गरिरहेका पत्रकार मनोरञ्जन शर्मा जटिल रोगका कारण उपचार गराईरहेकाले उपचारका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीका तर्फबाट २५ हजार उपचारका लागि सहयोग गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*