रुपन्देहीमा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु
बुटवल । रुपन्देहीमा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको भैरहवा सडक खण्डकको तिलोत्तमाको मणिग्राम लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी रुपन्देहीका व्यवसायी माधवलाल देवकोटाको मृत्यु भएको छ । उनीसँगै मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२ जानकी नगर बस्ने यादा क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक देवकोटा सहकारी सङ्घका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक थिए । विभिन्न सामाजिक तथा पेसागत सङ्घ संस्थामा आबद्ध देवकोटा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका सल्लाहकार समेत थिए ।
दुवै जनाको शव तिलोत्तमा रहेको क्रिमसन अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।