लोकतन्त्रको रक्षा, भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि दवाव समुह गठन
बुटवल । लोकतन्त्रको संरक्षण, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकार असफल भएको भन्दै बुटवलका बुद्धिजीवी तथा समाजसेवीहरुले शुसाशनका लागि नागरिक दवाव समुह गठन गरेका छन् । पछिल्लो समय नेपाल सरकारका गतिबिधि, कामकारबाही र अदुरदर्शी निर्णयहरुका कारण लोकतन्त्र बिरोधी गतिबिधिहरु मौलाएको भन्दै नागरिक समाजका अगुवाहरुले मानवअधिकारको अवस्था दयनिय र राज्य ब्यबस्था उदासिन रहेको बताएका छन् । नेपालमा राजनैतिक दलको बिकल्प नरहेको तर नेताहरु सच्चिनुको पनि बिकल्प नरहेको कुरामा सहभागिहरुको जोड रहेको थियो ।
अन्तराष्ट्रिय मानव अधिकार दिवशका अवसरमा बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले राजनैतिक स्थिरता, मुलुकको समृद्धि र सुशासनको नारा दिएर नथाक्ने प्रमुख राजनैतिक दल र नेताहरुका कारण मुलुकमा लोकतन्त्रमाथि धावा बोल्ने तत्वहरुको उत्पत्ती भएको टिप्पणी गरेका छन् । मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रिय सभापति गोबिन्द खनालले नेपालको परिपेक्षमा बर्तमान लोकतान्त्रिक ब्यबस्थाको बिकल्प नरहेको चर्चा गर्दै यसलाई समुन्नत बनाउन प्रमुख राजनैतिक दल र नेतृत्व पंक्ति सच्चिनु पर्ने कुरामा जोड दिनु भयो । लोकतन्त्रको सवलीकरणका लागि नागरिक आन्दोलन जरुरी रहेको ठहर गर्दै रुपन्देहीबाट नागरिक दवाव अभियान शुरुआत भएको उहाँले खुलासा गर्नु भयो ।
वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले नेपालमा लोकतन्त्र बिरोधी गतिबिधिहरु बढ्नुका प्रमुख राजनैतिक दलहरुनै दोषी रहेको उल्लेख गर्दै राजनैतिक दल दिशाहिन भएकोले नागरिक समाजले खवरदारी गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
अधिबक्ता महेन्द्र पाण्डेले प्रमुख दलका कार्यशैली, मुलुकमा उत्पन्न आर्थिक संकटका कारण जनतामा निराशा उत्पन्न भएको चर्चा गर्दै दलहरुलाई सच्चिएर अघि बढ्नका लागि नागरिक समाजबाट दवाव र खवरदारी आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
उद्योगी ब्यबसायी नेता डम्बरदेव अर्यालले आर्थिक सवलीकरण र समृद्धिको यात्राका सवालमा राज्यपक्ष उदासिन हुदा उद्योग ब्यबसाय क्षेत्र धरासायी बनेको उल्लेख गर्दै उत्पन्न बेरोजगारी र आर्थिक संकटको प्रत्यक्ष असर जनतामा परेको बताउनु भयो ।
पुर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले युवाहरु पलायन हुनबाट रोक्न सरकारले दिर्घकालिन योजना गर्न आवश्यक रहेको कुरामा जोड दिदै उपयुक्त निति निति निर्माण गर्न सरकार समक्ष आग्रह गर्नु भयो ।
कार्यक्रममा प्राध्यापक लिलबहादुर केसी, प्रगतिशिल लेखक ऋषी आजाद, उपभोक्ता हित संरक्षण मन्च बुटवलका अध्यक्ष समुन्द्र जीसी, घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल, नागरिक समाजका बिनबहादुर कुंवर, गणेश घिमिरे, ईश्वरी प्रसाद पाण्डेलगाएत वकिल, पत्रकार, लेखक, अधिकारकर्मीहरुले लोकतन्त्रको सवलीकरणका लागि नागरिक आन्दोलनको आवश्यक्ता रहेको र यसको शुरुआत रुपन्देहीबाट गरिएको चर्चा गरेका थिए । सो भेलाले गोविन्द खनाल संयोजक र ऋषि आजाद सचिव रहेको नागरिक दवाव समुह गठन गरिएको छ ।





















