डा. केसीले गरे तीनदिने सत्याग्रह घोषणा
काठमाडौँ । डा.गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा.केसीले तीन दिने सत्याग्रहको घोषणा गरेका हुन् ।
सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै केसीले शुक्रवार साँझ ५ बजेबाट सत्याग्रह सुरु गर्ने जनाएका हुन् । विगत लामो समयदेखि मुद्दाहरू उठाएर सत्याग्रह बसे पनि सरकारले माग पूरा नगरेको डा.केसीको भनाइ छ ।
केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइनुपर्ने र यसअघि सरकारले आफूहरूसँग गरेका सबै सम्झौता कार्यान्वयन हुनुपर्ने जनाएका छन्।
‘सरकारी अस्पतालहरूमा माग अनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने, सय शैया भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरू गर्ने लगायतका सम्झौता भएका थिए,’ केसीले भनेका छन्, ‘ती कार्यान्वयन नभएकाले फेरि सत्याग्रह सुरू गर्न परेको हो।’





















