एकवर्षमा १६ लाख बढी नेपाली विदेशिए
काठमाडौँ । अध्यागमन विभागले विगत एक वर्षमा विभिन्न सिलसिलामा १६ लाख भन्दा बढी नेपाली विदेशिएको जनाएको छ ।
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म १६ लाख ३ हजार ८ सय ३६ नेपाली विदेश गएको उल्लेख छ ।
जसमध्ये सबैभन्दा बढी २ लाख ७१ हजार ८८ जना संयुक्त अरब एमिरेट्स (यूएई) गएका छन् । यसैगरी भारत जानेको संख्या १ लाख ८० हजार ६ सय २ छ भने १ लाख ७९ हजार ४४१ जना कतार पुगेका छन् ।
यस्तै, मलेसिया १ लाख ६५ हजार २०१, साउदी अरेबिया १ लाख ३६ हजार २०३ तथा अष्ट्रेलिया १ लाख ५ हजार ३४३ रहेका छन् ।
विभागका अनुसार सन् २०२३ मा स्थायी बसोबास गर्ने उद्देश्यले ७० हजार ९१५ नेपाली विदेश गएका छन् । जसमा पुरुष ३६ हजार ६ सय ६३ र महिला ३४ हजार २५१ छन् ।
विभागको तथ्याङ्क अनुसार युद्धग्रस्त देश रुस जाने नेपालीको संख्या १ हजार ७९५ रहेको छ भने ९५ जना युक्रेन पुगेका छन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट जानेहरूको मात्र हो ।





















