नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुदा १२ जनाको मृत्यु
बुटवल । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटना हुदा १२ जनाको मृत्यु भएको छ ।
शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो ।
दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जसमध्ये ८ जनाको सनाखत भएको छ । बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने ६५ वर्षका ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने , जुम्लाका वर्ष ४० का मुनबहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी र भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । अन्य ४ जना मृतकको सनाखत हुन बाँकी छ ।
घाइतेमध्ये केहीलाई बुटवल र नेपालगञ्ज तथा केहीलाई भालुवाङ अस्पतालमा उपचार जारी राखिएको छ ।
दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।





















