एडिबी परियोजना ७ पालिकामा, सिद्धार्थनगरलाई बोलपत्र आह्वान गर्न अनुमति

खबरपथ संवाददाता
४ माघ २०८०, बिहीबार १३:३९

भैरहवा । एशियाली विकास बैंक (एडिबी) को ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’ अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ( सहित सात पालिकाहरु) मा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहुलियतपूर्ण ऋणमा बुधवार सम्झौता भएको छ ।

सिद्धार्थनगरमा परियोजना संचालनका लागि पहिलो नेपाल सरकार (अर्थ मन्त्रालय) र एडिबी, दोस्रो नेपाल सरकार, सिद्धार्थनगर, एडिबी तथा तेस्रो सिद्धार्थनगर, शहरी विकास मन्त्रालय (आयोजना कार्यान्वयन ईकाइ), नगर विकास कोषबीच गरी तीन वटा विभिन्न सम्झौता पत्रमा दस्तखत भएको हो । यो परियोजना संचालनका लागि नेपाल सरकारले एडिबीसगँ ६ अर्ब बराबरको सहुलियतपूर्ण ऋण लिएको छ । उक्त ऋण पालिकाहरुलाई अनुदानको रुपमा उपलब्ध गराइनेछ ।

परियोजना संचालनका लागि नेपाल सरकारबाट ७५ प्रतिशत अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र ७ प्रतिशत नगरपालिका कार्यालयको आन्तरीक स्रोतबाट सिद्धार्थनगरमा २५ किलोमिटर बढी नाला सहितको सडक तथा पर्यटन प्रवद्र्धनका लागि डण्डा नदीलाई करिडोरको रुपमा विकास गर्न सम्झौता भएको सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।

उनले सम्झौता पत्रमा दस्तखत भएसँगै परियोजना संचालन हुने ७ पालिकामध्ये सिद्धार्थनगर नगरपालिकालाई बोलपत्र आह्वान गर्नका लागि शहरी विकास मन्त्रालय अन्तरर्गतको आयोजना कार्यान्वयन ईकाईले अनुमति प्रदान गरेको बताए ।

सात पालिका मध्ये सिद्धार्थनगरको विस्तृत परियोजना रिपोर्ट एडिबीले स्विकृत गरेर कुनै आपत्ति नरहेको पत्र शहरी विकास मन्त्रालयलाई दिएपश्चात मन्त्रालयको ईकाइ कार्यालयले नगरपालिकालाई ठेक्का आह्वान गर्न अनुमति दिएको हो ।

‘सम्झौतासँगै हामीले अन्तराष्ट्रिय बोलपत्र आह्वानका लागि अनुमति पाइसकेका छौँ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘ अब अध्ययन गरेर एक हप्ताभित्रै बोलपत्रको सूचना जारी गर्छौँ ।’ उनले उक्त परियोजना नगरको मुहार फेर्नका लागि कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गरे ।

नगरमा एडिबी अन्तरर्गतको परियोजना मात्रै नभई अन्य ठुल्ठुल्ला परियोजना ल्याउनका लागि पनि प्रयासहरु भइरहेको नगर प्रमुख खानले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले परियोजनाले नगरवासी लाभान्वित हुनुका साथै पर्यटन प्रवद्धन सहित अन्य क्षेत्रमा समेत टेवा पुग्ने बताइन् ।

बैंकको बोर्ड बैठकले शहरी लचिलोपन र जीवनयापन सुधार परियोजना अन्तरर्गत सिद्धार्थनगरमा योजना संचालनका लागि नगरपालिकाबाट प्रस्तावित योजनाहरु गत मंसिर महिनामा स्वीकृत गरेको थियो ।

परियोजना अन्तरर्गत नगरपालिका क्षेत्रमा ‘इडब्लुसीडी’ मानक सहितको फुटपाथ, नाला, साइकल लेन, सडक निर्माण र डण्डा नदीलाई करिडोरको रुपमा विकास गरिनेछ । यसले हरियाली पार्क र खुला ठाउँहरु सहित सार्वजनिक क्षेत्रको समेत सौन्दर्यीकरण गर्नेछ । डण्डा नदीको किनारका जग्गाहरुमा आर्कषक पूर्वाधारहरु निर्माण गरिनेछ ।

बालबालिका, महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई समेत मध्यनजर गर्दै परियोजना अन्तरर्गतका विकासका कार्यहरु हुने सिद्धार्थनगर नगरपालिकाका योजना प्रमुख इन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।

सिद्धार्थनगरमा परियोजना कार्यान्वयन गर्ने क्रममा उत्कृष्ट परिणाम अनुसार थप लगानी भित्रिने अवस्था समेत रहेको नगरपालिका कार्यालयले जनाएको छ । उक्त परियोजना सिद्धार्थनगर नगरपालिकासँगै पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक, सैनामैना, तिलोत्तमा, र देवदह नगरपालिकामा संचालन हुनेछ । @ न्यूजकारखाना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*