मायोदेवी विश्व शान्ति बौद्ध विहारमा दीप प्रज्जवलन

खबरपथ संवाददाता
१७ माघ २०८०, बुधबार २१:०४

लुम्बिनी । शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनी सहित जोडिएका रुपन्देहीका क्षेत्रहरुलाई बुद्धभूमिका रुपमा प्रचार र विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

रुपन्देहीको तिलोत्तमा १४ टिकुलीगढ स्थित मायादेवी विश्व शान्ति बौद्ध विहारले बुधबार लुम्बिनी विच कोषसँग स्थानीय विहारविच सहकार्य एंव दीप प्रज्जवलन कार्यक्रममा सहभागीहरुले रुपन्देही, कपिलबस्तु र नवलपरासी जिल्लालाई बुद्धभूमिका रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

उक्त अवसरमा विश्व शान्तिको कामना गर्दैै लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले १०८ वटा दीप प्रज्वलन गरेका छन् । दीप प्रज्वलनसँगै गरिएको अन्तरक्रियामा कोषाध्यक्ष भट्टराईले शान्तिका अग्रदुत बुद्धका आमा मायादेवीको स्मरणमा स्थानीय महिलाहरुको सक्रियतामा मायादेवी विश्व शान्ति बौद्ध विहारको स्थापना हुनु आफैमा ऐतिहासिक काम भएको बताए ।

उनले लुम्बिनी विकास कोषले नीतिगत रुपमा स्थानीयसँग लुम्बिनी कार्यक्रमको अवधारणा लिएकाले आगामि दिनमा बौद्ध विहारहरुसँग सहकार्य र समन्वयका लागि आवश्यक पुलको काम गर्ने प्रतिबद्धता जनाए ।

कोषाध्यक्ष भट्टराईले बुद्ध दर्शनको विचारलाई अगिंकार गर्ने समाज निर्माणमा विहारहरुले निकै ठूलो योगदान गर्न सक्ने बताए । उनले बुद्धकालको समाज नै वास्तविक समाजवादी रहेको बताउँदै अब विश्वका लागि बुद्धको विचारलाई फैलाउन जरुरी रहेको बताए । ‘बौद्ध शिक्षा लागू गरेर हुन्छ की, बुद्धको सन्देशलाई समाजमा फैलाएर हुन्छ, अब समाजलाई त्यतातिर लैजानुपर्छ’ कोषाध्यक्ष भट्टराईले भने । उनले समुदायलाई जोडेर विकास गर्नुपर्ने पक्षमा आफु रहेको बताउँदै कोष पनि नागरिसँग जोड्नुपर्ने पक्षमा रहेको बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एंव सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले वडा न. १४ तिलोत्तमा बौद्ध अनुयायीहरु धेरै रहेको वडा समेत भएकाले यहाँको विकासका लागि लुम्बिनी विकास कोषसँगै स्थानीय सरकार समेत जोडिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले २०५० सालादेखि नै स्थानीय स्तरबाट समुदायले बौद्ध विहारको स्थापना गरेर बुद्धका विचार र दर्शनलाई समुदायमा फैलाउने काम गरेको बताउँदै अब बुद्धजन्मस्थल र लुम्बिनी विकास कोषसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उक्त अवसरमा मायादेवी विश्व शान्ति बौद्ध विहारका अध्यक्ष गौमती पुनमगरले विस २०५० सालमा स्थानीय महिलाहरु जुटेर विहारको स्थपाना गरेको स्मरण गर्दै लुम्बिनीसँग जोडिएर अगाडि बढ्न चाहेको बताईन । उनले आफुहरुले धेरै मेहनत गरेर विहार निर्माण गरेको तर, यहाँ ध्यानकेन्द्र लगायतका अन्य पूर्वाधार निर्माणका लागि आर्थिक अभावका कारण संकट भोग्नुपरेको बताईन ।

कार्यक्रममा विहारका नन्द बहादुर पुन, समाजवसेवी भोजबहादुर बुढा, टिकुलीगढ युवा क्लबका सदस्य दीपक श्रीस, बुद्धि थापा लगायतले बोल्दै बुद्ध दर्शनको आवश्यकता बढ्दै गएकाले तिलोत्तमामा बौद्ध शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*