फराकिलो काठमाण्डौ बनाउने बाटोमा छौँ : मेयर बालेन शाह

खबरपथ संवाददाता
४ फाल्गुन २०८०, शुक्रबार ११:५६

काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूहरू फराकिलो काठमाण्डाै बनाउने बाटोमा रहेको बताउनुभएको छ ।

काठमाण्डाैको खुलामञ्चमा खेलमैदान बनाउन लागिएको भन्ने समाचारको खण्डन गर्दै उहाँले सामाजिक सञ्जालमा स्पष्टीकरण दिनुभएको हो । उहाँले आफूहरूको चाहना खुलामञ्चसँगै टुँडिखेल पनि सधैँ खुला नै हुनुपर्ने रहेको बताउनुुभएको छ ।

फेसबुकमा उहाँले लेख्नुभएको छ : ‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुलै हुनुपर्छ । त्यो कुनै समूह वा कुनै एक कार्यका लागि मात्र नभएर बहुउपयोगी महत्त्वको बनोस् भन्नेमा हामी सचेत छौँ ।’ आफूहरूले १० महिनादेखि खुलामञ्चमा थुप्रिएका झण्डै १० लाख किलो कङ्क्रिट हटाउने काम सकाएको उहाँको भनाइ छ ।

मेयर शाहले खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रिया अघि बढिरहेको भन्दै त्यहाँ सबै जना जान पाउने, व्यायाम गर्न पाउने, साथीभाई भेटघाट गर्न पाउने व्यवस्था हुने बताउनुभयो ।

उहाँको फेसबुक स्टाटसमा ‘खुलामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा बस्ती बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन’ भनेर लेखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*