१५ दिने संस्कृत सम्भाषण प्रशिक्षण सम्पन्न

खबरपथ संवाददाता
१७ असार २०८२, मंगलवार २१:३६

बुटबल। सनातनी युवा मञ्चको आयोजनामा आयोजित १५ दिने संस्कृत सम्भाषण प्रशिक्षण कार्यक्रम रम्भा गाउँपालिका–१, पाल्पास्थित कालीगण्डकी गुरुकुलममा सम्पन्न भएको छ। असार १ गतेदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम १५ गते सम्पन्न भएको हो।

उक्त प्रशिक्षण कार्यक्रममा ४० जना भन्दा बढी प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। प्रशिक्षणको प्रमुख प्रशिक्षक नेपाल संस्कृत विश्वविद्यालयका उप–प्राध्यापक आचार्य मनोज भण्डारी रहेका थिए। साथै, प्रशिक्षकहरूका रूपमा संस्कृत भारती काशीबाट आएका श्याम शास्त्री, हिमांशु शास्त्री, अमृत शास्त्री, पीयूष शास्त्री र रोहित शास्त्रीले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कालीगण्डकी गुरुकुलमका प्रमुख चैतन्य कृष्ण गुरुद्वारा संस्कृत भाषाको वैज्ञानिक पक्ष र विद्यार्थी जीवनमा अनुशासनको आवश्यकता विषयमा दिव्य प्रेरणात्मक मन्तव्य प्रदान गरिएको थियो।

प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र सनातनी युवा मञ्चका अध्यक्ष प्रेम सुजन शास्त्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक कोषराज न्यौपाने थिए भने विशिष्ट अतिथिमा कालीगण्डकी गुरुकुलमका प्रमुख चैतन्य कृष्ण महाराज र प्राचार्य दुर्गा कण्डेल बस्याल रहेकी थिइन्।

अध्यक्ष शास्त्रीले देशका सातै प्रदेशमा यस्ता संस्कृत सम्भाषण प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने र सनातन धर्मको संरक्षण तथा समाजमा आध्यात्मिक चेतना अभिवृद्धिका लागि मञ्चले यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

प्रमुख अतिथि न्यौपानेले संस्कृत भाषाप्रतिको प्रेम, हाम्रो संस्कृति र शिक्षा क्षेत्रमा संस्कृत भाषा आवश्यक भएको बताएका थिए।

कार्यक्रमको सञ्चालन सनातनी युवा मञ्चका सचिव निशान्त अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य अर्जुन भुसालले व्यक्त गरेका थिए।
१५ गते कार्यक्रम समापनको दिन प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र र प्रशिक्षकलाई सम्मानपत्र प्रदान गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*