अमेरिका माथी नेपालको फराकिलो जीत
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकािवरुद्धको खेलमा नेपालले फराकिलो जित हासिल गरेको छ ।
शुक्रबार भएको अन्तिम खेलमा नेपालले अमेरिकालाई १ सय २२ रनको विशाल अन्तरले जीत हासिल गरेको हो ।
नेपालले दिएको ३ सय १८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १ सय ९५ रन बनाएर अलआउट भएको थियो ।
अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले ५६, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, नोस्थुस केन्जिगेले २४, सैतेजा मुक्कमल्लाले २२, मिलिन्द कुमारले १२ रन बनाएका थिए । तर, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
तर, नेपालका लागि सन्दीप लामिछानेले तीन, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुलशन झाले दुई–दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रन बनाएको हो ।
नेपालका लागि इशान पाण्डेले ८४ तथा दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ तथा कुशल भुर्तेलले २९ रन प्रहार गरेका थिए । अमेरिकाका शुभम रञ्जनेले तीन विकेट लिएका थिए ।





















