मुख्यमन्त्री केसीलाई मुक्त कम्मलरीले बुझाए ध्यानआर्कषण पत्र

खबरपथ संवाददाता
६ भाद्र २०७८, आईतवार १३:३२

बुटवल । मुक्त कम्मलरी विकास मञ्चले मुक्त कमलरीहरु पुनः कमलरी बस्न जानुपर्ने अवस्था आएको भन्दै लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ध्यानआर्कषण गराएको छ । मञ्चले शनिबार मुख्यमन्त्री केसिको निवासमा पुगेर ध्यानआर्कषण पत्र बुझाउँदै सरकारले दिने सेवा सुविधा र सम्झौता कार्यान्वयन नगर्दा मुक्त भइसकेकाहरु पुन कमलरी बस्नुपर्ने अवस्था आएको बताएका हुन ।

मुख्यमन्त्री केसीलाई मञ्चका अध्यक्ष शान्ति चौधरीले ध्यानआर्कषण पत्र बुझाउदै लुम्बिनीका दाङ, बाँके र बर्दियाका मुक्त कम्मरीहरुको समस्या समाधान गर्न आग्रह गरिन । मुक्त कमलरीका लागि शिक्षा निर्देशिका २०६८ अनुसार हालसम्म मुक्त कमलरीहरुले कक्षा १२ सम्म पाउदै आएको छात्रवासमा खाने, वस्ने सुविधा कटौती भएकोले शिक्षालाई निरन्तरता दिन नसक्ने अवस्था आएको ध्यानआर्कषणपत्रमा भनिएको छ ।

दाङ जिल्लाको लावाजुनी छात्रावास नर्तिमा वसी स्नातक तहमा अध्ययन गरिहेका १० जनाको अवस्था अव कहाँ जाने के खाने भन्ने चिन्ताले सताउन थालेको समेत ध्यानआर्कषणमा भनिएको छ ।

मुक्त कमलरीका हक अधिकार र सवाललाई सम्बोधन गर्न समेत मञ्चले माग गरेको छ । सम्पुर्ण मुक्त कमलरीहरुलाई तत्काल परिचयपत्रको व्यवस्थाका लागि सहजिकरण, मुक्त कमलरीका लागि प्रदान गरिँदै आएको छात्रवृत्ती स्नातकोत्तर तहसम्म व्यवस्था गरी समयानुकूल बृद्धि गर्न समेत प्रदेश सरकारलाई आग्रह गरेको छ । दाङको लावाजुनी मुक्त कमलरी छात्रावासमा रहेका १० जनाको तत्काल खान वस्नको व्यवस्था गर्न समेत अध्यक्ष चौधरीले मुख्यमन्त्रीसँग माग गरिन ।

ध्यानआर्कषणपत्र बुझ्दै मुख्यमन्त्री केसीले सरकारले मुक्त कम्मरीको समस्या तत्तकाल समाधान गर्ने प्रतिबद्धता जनाए । उनले कम्मलरी विद्यार्थीको छात्राबास खर्चको व्यवस्थापन तुरुन्तै गर्ने बताउँदै आवश्यक सहयोगका लागि सरकारले सहजीकरण गर्ने बताए । उक्त अवसरमा दाङबाट निर्वाचित सांसद इन्द्रजीत थारु, बर्दियाबाट निर्वाचित प्रदेश सांसद तिलकराम शर्मा, मुक्त कम्मलरी विकास मञ्चका कानुनी सल्लाहाकार फकला थारु, प्रवन्धक माधवलाल चौधरी सहित ५ जिल्लाका कम्मलरी विकास मञ्चका अध्यक्षहरुको सहभागिता थियो । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा मुक्तकम्मलरीहरु रहेको मञ्चका प्रवन्धक चौधरीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*