रोहिणीमा घर वा अन्य संरचनाको अनिवार्य नक्शा पास गर्नुपर्ने नियम लागू

खबरपथ संवाददाता
७ भाद्र २०७८, सोमबार २१:३१

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले मंगलबार देखी गाउँपालिका क्षेत्रमा घर एवम अन्य संरचनाको अनिवार्य नक्शा पास गर्नुपर्ने नियम बनाएको छ ।
सोमबार सूचना जारी गर्दै गाउँपालिकाले भाद्र ८ गते देखी २०७९ असार मसान्त गाउँपालिकामा रहेका भवन, कलकारखाना एवम अन्य भौतिक संरचनाको नक्शा पास गराए जरिवाना नलाग्ने र सोपछि नियम अनुसार जरिवाना लाग्ने उल्लेख गरेको छ ।
रोहिणी गाउँपालिका क्षेत्रभित्र नक्शा अभिलेखीकरण गर्नुपर्ने नियम कार्यान्वयन हुनु अघि निर्माण सम्पन्न भएका र नक्सा पास हुन बाँकी भवन, कलकाराखाना तथा संरचनाहरु अभिलेखीकरण असार मसान्त सम्म गरि सक्न गाउँपालिकाले अनुरोध गरेको छ । सो मिति भित्र अभिलेखीकरण गरे बिलम्ब शुल्क नलाग्ने रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । यसका साथै अब नयाँ बन्ने भवन, कलकारखाना एवम अन्य संरचना बनाउन परे त्यसको अनिवार्य नक्सा पास गराउनु पर्ने न्यौपानेको भनाई छ । अहिले नक्सा पास गरि घर बनाए नियम अनुसारको दस्तुर मात्र लाग्ने र कानून विपरीत गई संरचना बनाए दस्तर संगै जरिवाना समेत लाग्ने भएकोले उनले समयमै नक्सा सम्बन्धि काम गर्न आग्रह गरे ।
साविकको धकधई, पोखरभिण्डी, बगहा, बोदवार, छिपागढ र पजरकट्टि गाविस मिलेर बनेको रोहिणी गाउँपालिकामा ७ हजार हाराहारीमा घरधुरी रहेको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनले यस अघि अब्यवस्थित रुपमा बसोबास रहेको कारण बिभिन्न बिकास निर्माणका कामहरु गर्न कठिनाई हुने गरेको बताउदै ब्यवस्थित बसोबासको लागी घरनक्सा पास अपरिहार्य रहेको बताए । कानून अनुसार नक्सा पास भए यसले नागरिक र स्वयम गाउँपालिकालाई पनि सहज हुने भएकोले यो अभियानमा समग्र रोहिणी गाउँपालिकावासीलाई सहभागी हुन आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*