तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

खबरपथ संवाददाता
२२ आश्विन २०७८, शुक्रबार २०:१८

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने नीति अनुरुप यो वर्ष किसानले ४६ लाख ६ हजार ५ सय ६९ रुपैंयाँ प्राप्त गरेका छन् ।

किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत् विक्री गरिएको दुधको परिमाण अनुसार नगरपालिकाले हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनको आधारमा २१ वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

शुक्रबार १६ वटा सहकारीले अनुदान रकम बुझेका छन् भने बाँकी ५ वटा सहकारीले आवश्यक कागजात पुर्याएपछि रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम केही दिनभित्रैं किसानको हातसम्म पुर्याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई आग्रह गर्नुभयो ।

नगरपालिकाले अघिल्लो दुई आर्थिक वर्षमा पनि यहीँ नीतिअनुरुप किसानलाई अनुदान उपलब्ध गराएको थियो । उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले नगरपालिकाले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको बताउँदै नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले किसानमुखी अन्य कार्यक्रम समेत सञ्चालन गरेको बताउनुभयो ।

यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं. १४ स्थित गौतमबुद्ध दुध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । केन्द्रले ९ लाख ९४ हजार ६४५ रुपैंयाँ प्राप्त गरेको छ भने वडा नं. १४ कैं टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख ६६ हजार १०१ रुपैंयाँ, वडा नं. १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ५ हजार ९४४ रुपैंयाँ, वडा नं. ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ३ लाख ९ हजार ५७५ रुपैंयाँ प्राप्त गरेको छ ।

गत वर्ष नगरपालिकाले किसानलाई ४५ लाख ९८ हजार ८ सय २१ रुपैंयाँ अनुदान स्वरुप प्रदान गरेको थियो । दुधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक एक करोड लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको झण्डै आधा दुध सहकारी मार्फत् विक्री वितरण हुने गरेको छ ।

अनुदान वितरण कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले जिल्लाका अन्य पालिकाले नगरेको काम तिलोत्तमाले गरेको भन्दै सोझै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैको लागि अनुकरणीय रहेको बताउनुभयो । यस्तै शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम बहादुर भण्डारीले किसानको गोठमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताउनुभयो । शाखा अधिकृत सीता भण्डारीको सञ्चालन तथा पशु सेवा शाखाका राजु कुँवरको स्वागतमा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*