सामाजिक र मानविय सेवा नै वास्तवीक धर्म – उपप्रमुख काफ्ले
भैरहवा । मन्दिर र मुर्ति पुजा गर्नुभन्दा सामाजिक र मानविय सेवा नै वास्तवीक धर्म भएको सिद्धार्थनगरका उपप्रमुख उमा काफ्लेले बताउनु भएको छ ।
लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले आयोजना गरेको सिद्धार्थ बालगृहका बालबालिकाहरुलाई बस्त्र बितरण पश्चात बोल्दै उपप्रमुख काफ्लेले भन्नुभयो, “यतिबेला दुर्गा पुजा चलिरहेको छ । मन्दिरहरुमा भीडभाड छ, दुर्गाको मुर्तिहरु निर्माणमा धेरै खर्च भएको छ तर हजारौं मानिसहरु आज पनि के खाने के लाउने भन्ने पीरलोमा छन् । ”
उपप्रमुख काफ्लेले असली भगवानको पुजा मानवीय सेवा भएको बताउनुभयो । उहाँले बालगृहका बालबालिकालाई दशैंको बेला लायन्स भैरहवा ग्रीनसिटीले गरेको सहयोग नै धर्मको रुप भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म भनेको यहि हो, मुर्ति पुजा गरेर केहि हुदैन । धर्म भनेको सेवा हो । ग्रीनसिटीले जुन काम गर्यो, त्यहि धर्म हो । जहाँ सेवा गर्नुपर्ने हो त्यहि सहयोग पुगेकोमा म खुसी छु । यज्ञ भन्दा ठूलो कर्म हो । ”

बस्त्र बितरण कार्यक्रममा मायादेवि गाउपालिकाका वडा नम्बर ८ का अध्यक्ष चोकबहादुर थापाले बालगृहकोलागि आवश्यक जग्गा व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा लायन्सका अभियन्ताहरुले सामाजिक सेवा भावले गरिएको कामले आफुहरुलाई खुसी बनाएको बताउनुभयो ।
बालगृहमा रहेका १८ जना बालबालिकालाई कपडा बितरण गर्न पाउदा आफुहरुलाई खुसी लागेको लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीका अध्यक्ष गोबिन्द प्रसाद गिरीले बताउनुभयो ।

कार्यक्रम संयोजक बिना पौड्यालका अनुसार बालगृहमा रहेका बालबालिकाहरुलाई कपडाहरु दिन पाउदा आफुहरुलाई पनि खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष प्रशान्तमणी रामदाम, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी, लायन्स क्लब अफ टुलिपको अध्यक्ष माया सुर्यबंशी , अमृत खनाल, लियो क्लब भैरहवा ग्रीन सिटीका अध्यक्ष नरेन्द्र बहादुर के.सी.लगायतले शुभकामना मन्तब्य राखेको क्लबका सचिव थानेश्वर पान्डेले बताउनुभयो ।





















