राष्ट्रपति भण्डारीद्धारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्बको बुद्धमूर्ति अनावरण

खबरपथ संवाददाता
१४ कार्तिक २०७८, आईतवार २०:२७

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साढे दुई अर्ब रुपैयाँ मूल्यको बुद्धको मूर्ति अनावरण गर्नु भएको छ । आइतबार ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ति राखिएकोमा यसले विश्वभर शान्तिको सन्देश फैलाउन ठूलो भूमिका खेल्ने बताउनुभयो ।‘ राष्ट्रपति भण्डारीले विश्वभरका पर्यटकमाझ शान्ति, अहिंसा र करुणाको सन्देश फैलाउन ठूलो मद्दत पुग्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले दिगो विश्व शान्ति स्थापना गर्न मद्दत पुग्नुका साथै लुम्बिनीको विकासमा नयाँ आयाम थपिएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले विमानस्थलमा महाकरुणा बुद्धमूर्ति स्थापनाले सबैलाई सत्मार्गमा रहन सन्देश दिने बताउनुभयो ।

राष्ट्रपतिले बुद्धका उपदेशको अनुशरण गरेमात्रै विश्वमा शान्ति कायम हुने भन्दै यसलाई सबैले महसुस गर्दै आफ्नो जीवनमा अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो। लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले यसका लागि लुम्बिनी गुरुयोजना छिटो पूरा गरी लुम्बिनी सर्किटको विकास गर्नुपर्ने बताउनु भयो ।

महाकरूणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले विमानस्थलमा बुद्ध मूर्ति राखेर यसको महत्वलाई अझै बढाइएको भन्दै यसबाट विमानस्थलमा ओर्लने पर्यटकहरूले सन्देश बोकेर जाने बताउनु भयो।  खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पुर्‍याउन निर्देशन दिनुभयो । खाँडले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानहरुलाई सरकारले राहत दिने पनि बताउनु भयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले गौतमबुद्धले दिएको शान्ति र अहिंसाको सन्देश अहिले पनि उत्तिनै सान्दर्भिक रहेको बताउँदै बुद्ध दर्शनले बाह्य मुलुकलाई नेपाल र नेपालीसँग जोड्ने काम गरेको बताउनुभयो ।

विज्ञान र प्रविधिमा भएको विकास तथा अस्त्र र शस्त्रको निर्माणले मानवजातीलाई असर गरेको उल्लेख गर्दै हत्या र हिंसाले शान्ति सम्भव नहुने भएकाले विकास शान्ति, विकास र समृद्धिमा केन्द्र हुनुपर्ने धारणा राख्नुभयो ।

स्पेनका सभामुख बलान्का मार्टिक डेल्गाडोले बुद्ध र शान्तिको सन्देशले स्पेन र नेपाललाई जोड्ने अभियानमा रहेको बताउनु भयो । उहाँले नेपालमार्फत एशियामा राम्रो सम्बन्ध विस्तार गर्न चाहेको उल्लेख गर्नुभयो ।

लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोसे म्यानुअल भियानोले बुद्ध संस्कृति र दर्शनलाई विश्वभर चिनाउन दुई देशको सहकार्यले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

म्यानमारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।

बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ, भारत हुँदै कोलकाता बन्दरगाहबाट रुपन्देही ल्याइएको हो । एक हजार ८०० केजी तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ ।

सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालबिन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको हो । दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउन्डेसनले नेपाललाई उपहार स्वरूप दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*