राजस्व संकलन दोब्बर बनाउने लक्ष्य – अर्थमन्त्री शर्मा

खबरपथ संवाददाता
२३ कार्तिक २०७८, मंगलवार ०८:२४

सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनु भएको छ । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षण पछि गरिएको कार्यक्रममा यस्तो बताउनु भएको हो ।

 

मन्त्री शर्माले विभिन्न चुनौतीका बीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताउनु भएको हो । ‘तोकिएको लक्ष्य भन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’, उहाँले भन्नुभयो, ‘बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउनका लागि कडाइ समेत गरिएको छ ।’
यधपी पछिल्लो समय बेमौसमी वर्षाका कारण अरबौँको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्य अनुरूप हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजस्व वृद्धिका लागि लगानी बढाउनु पर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव बीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिनुभयो । उहाँले चीन सरकारले ठोस रूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्ने जोड दिनुभयो । ‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उहाँले भन्नुभयो, ‘उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔँ ।’
तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताउनु भयो ।

नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुग्नु भएका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गर्नुभएको थियो । कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ । पछिल्लो समय करिब एक दर्जन माल बाहक सवारी नेपाल भित्रिने गरेका छन् । नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सारले जानकारी दिएको छ । त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखर लगायतका मालवस्तु भित्रिने गरेका छन् ।

सोमबार नाका क्षेत्रको निरीक्षण तथा अवलोकनका लागि सभामुख अग्नी प्रसाद सापकोटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ, भन्सार विभागका महानिर्देशक नारायण सापकोटा लगायत तातोपानी नाका पुग्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*