आज अस्ताउँदो सूर्यको पूजा गरी छठ मनाइँदै
काठमाडौं । आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ । कार्तिक शुक्ल चतुर्थी देखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो ।
छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक विदा दिएको छ ।
यसमा झुप्पा/झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । छठ पर्वमा व्रत गरेर सूर्यको पूजा गरे सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिएका छन् ।





















