विश्वविद्यालयहरु विश्व प्रतिष्पर्धी हुनुपर्छ : तिमिल्सिना

खबरपथ संवाददाता
२६ कार्तिक २०७८, शुक्रबार १२:३२

बुटवल । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका विश्व विद्यालयको शिक्षा विश्वमा पहिचान हुने गरी प्रतिष्पर्धी हुनु पर्ने बताएका छन् । मुलुकमा विश्वविद्यालयको संख्या बढ्दै गए पनि गुणस्तरीयतामा प्रश्न उठिरहेको भन्दै उनले विश्वविद्यालयहरुले शैक्षिक विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा बिहिबार आयोजित विश्वविद्यालय र स्पेनको संस्था लुम्बिनी गार्डेन फाउन्डेसन बीचको सहकार्य सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले मुलुकको जेठो विश्वविद्यालयले गर्न नसकेको काम बौद्ध विश्वविद्यालयले गर्नु पर्ने बताए ।

‘हामी आफूले पढ्ने विश्वविद्यालयका नाम सुन्दा नाक खुम्च्याउने अवस्था हुनु हुदैन, उनले भने,–‘जेठो विश्वविद्यालयले गर्न नसकेका कामहरु बौद्ध विश्वविद्यालयले गर्न खोजिरहेको छ । यसलाई निरन्तरता दिनुपर्छ ।’ विश्वमा नाम चलेका विश्वविद्यालयको सूचिमा बौद्ध विश्वविद्यालय आउनु्पर्ने उनले बताए । त्यसका लागि प्राध्यापक/शिक्षकले चासो दिनु पर्ने बताए ।
पूर्विया मुलुकमा अहिले बौद्ध दर्शन अध्ययन गर्ने परिपाटीको विकास भइरहेको सन्दर्भमा ती अध्येताहरुलाई बुद्ध जन्मे कै स्थानमा पढाउने व्यवस्था गर्न जरुरी रहेको उनले बताए । बुद्ध दर्शन सबैको साझा रहेको उनले बताए । साझा दर्शनलाई धर्ममा मात्रै नजोडेर विश्वभर शान्ति र अहिंसाको सन्देश प्रवाह गर्ने माध्यम बनाउन जरुरी रहेको उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले विश्वविद्यालय मार्फत शैक्षिक उन्नयनका काम गर्नका लागि उपकुलपति, रेक्टर, रजिष्ट्रारहरु सक्रिय हुनु पर्ने बताए । ‘नियुक्ती लिएर पद पाउनु मात्रै ठूलो कुरा होइन, उपकुलपति भए पछि विश्वविद्यालयले के स्वरुप पायो भन्ने महत्वपूर्ण कुरा हो, उनले भने । लुम्बिनी बौद्ध विश्वविद्यालयले शिक्षक तथा विद्यार्थी मार्फत बौद्ध दर्शनको प्रवद्र्धनमा काम गर्नु पर्ने सुझाव उनले दिए ।
स्पेनको संस्थासंगको सहकार्य सम्झौता बौद्ध शिक्षा पर्वद्धन र विकासका लागि कोशेढुंगा सावित हुने विश्वास उनले गरे । पश्चिमाहरु जसरी बौद्ध दर्शन प्रति स्वत स्फूर्त लागेका छन्, त्यसलाई बुद्ध जन्मस्थलले उपयोग गर्ने तरिकाले काम गर्नु पर्ने उनले बताए । त्यसो हुदा पर्यटन मार्फत आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाई थियो ।

सो कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी गार्डेन फाउन्डेसन बीच आपसी सहकार्य पत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. हृदरत्न बज्राचार्य र रजिष्ट्रार डा. तिलकराम आचार्य तथा फाउन्डेसनका तर्फबाट अध्यक्ष जोशे म्यानुएल भिलानोभा र उपाध्यक्ष गोविन्द सुवेदीले हस्ताक्षर गरे ।

दक्ष जनशक्ति उत्पापदन, पर्यटन प्रवद्र्धन, स्पेनिस र नेपाली भाषा एक अर्का देशका विद्यार्थीमा पठनपाठन, प्राज्ञिक व्यक्तित्वबीच शैक्षिक प्रवद्र्धन कार्यक्रम, आर्थिक अनुदान लगायतका उद्देश्यहरु सहमति पत्रमा उल्लेख गरिएको छ ।

सहकार्य पत्रमा हस्ताक्षरले विश्वविद्यालयले फाउन्डेसन मार्फत स्पेन र युरोपमा सम्बन्ध विस्तार गर्ने विश्वास विश्वविद्यालयका अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक डा. सन्जिव हुमागाईले बताए ।

सो अवसरमा बोल्दै विश्वविद्यालयका उपकुलपति बज्राचार्यले विश्वविद्यालयले दश वर्षे रणनीति तय गरिहरको भन्दै यसले आगामी दिसा निर्दिष्ट गर्ने बताए । कोर बुद्धिष्ट फिलोसोफिलाई सीप विकासमा प्रयोग गर्ने गरी अहिले विश्व विद्यालयले पठन पाठन गराइरहेको उनले बताए ।

फाउन्डेसनका अध्यक्ष जोशे म्यानुएल भिलानोभाले विश्वविद्यालय संग सहकार्य गर्न पाउदा खुसी व्यक्त गर्दै बौद्ध दर्शन र शिक्षाको विकासमा सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । फाउन्डेसनले भैरहवा विमानस्थलमा साढे दुई अर्बको बुद्धमूर्ति राखेर काम थालेको बताउदै शिक्षाका क्षेत्रमा पनि काम हुने उनले बताए ।
सो अवसमार बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले फाउन्डेसनले बुद्ध स्थलको प्रर्वद्धनमा महत्वपूर्ण काम गरेको भन्दै विश्व विद्यालय संगको सहकार्यले थप टेवा पुग्ने बताए । उनले विश्वविद्यालयलाई विश्वका हरेक क्षेत्रबाट अध्ययन गर्न आउने थलोका रुपमा विकास गर्न सकिने उनले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*