तिलोत्तमालाई बालमैत्री नगर बनाउन सञ्चारकर्मीहरुको सामूहिक प्रतिवद्धता

खबरपथ संवाददाता
२८ कार्तिक २०७८, आईतवार २१:२४

बुटवल । तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर बनाउन रुपन्देहीका सञ्चारकर्मीहरुले सामूहिक रुपमा प्रतिवद्धता गरेका छन् । आइतबार तिलोत्तमा नगरपालिकामा सम्पन्न वडा नगर बाल मैत्री घोषणा तथा दिगोपनाका लागी सञ्चारकर्मीहरुको भूमिका बिषयक अन्तक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुले सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका गरेका हुन । अन्तक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुले स्थानीयतहलाई बालमैत्री बनाउने पक्षमा कलम चलाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

तिलोत्तमा नगरलाई बालमैत्री बनाउनका लागि आवश्यक सम्पूर्ण सूचकहरुको पालना गर्दै अघि बढ्ने नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताए । प्रवक्ता श्रीले आवश्यक सहयोग तथा समन्वयका लागि सञ्चारकर्मीहरु माझ आग्रह गर्दै उनले व्यवहारिक रुपमै बालमैत्री नगर बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

अन्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष अमृता अनमोलले बालमैत्री नगर कागजमा मात्रै नभई व्यवहारमा पनि हुनुपर्नेमा जोड दिइन् । सामुहिक प्रतिवद्धता पछि बोल्दै उनले नगरलाई बालमैत्री बनाउनका लागि निगरानी तथा हौसला प्रदान गर्ने गरी कलम चलाउने उनले बताइन् ।

अन्तरक्रियाका सहजकर्ता बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौबेले सबै तिलोत्तमाले बालमैत्री नगर घोषणाको थालनी गरेर सकारात्मक सन्देश दिन थालेको उल्लेख गरे । दिगो विकासका लक्ष्य हासिल गर्नका लागि पनि बालमैत्री स्थानीय तह हुन आवश्यक रहेको बताउँदै उनले मुलुकको आर्थिक विकासमा लागि सबै स्थानीय तहले अनिवार्य रुपमा बालमैत्री हुन आवश्यक रहेको बताए ।

दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपाल सरकारले आगामी २०८७ सम्म सबै स्थानीय निकायहरुलाई बालमैत्री घोषणा लक्ष्य अनुरुप तिलोत्तमाले रुपन्देहीमा पहिलो र उदाहरणीय कामको थालनी गरेको उनले बताए । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गँगाराम आचार्यले नगरबासी, सञ्चारकर्मी, जनप्रतिनिधि तथा कर्मचारीहरुको सामूहिक पहलमा मात्रै तिलोत्तमालाई बालमैत्री नगर बनाउन सम्भव भएको उल्लेख गरे ।

तिलोत्तमालाई २०७८ मंसिर २९ गते बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*