तिलोत्तमालाई बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी

खबरपथ संवाददाता
१ मंसिर २०७८, बुधबार ११:५२

तिलोत्तमा । तिलोत्तमा नगरपालिकालाई यहीँ मंसिर २९ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने गरी विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भएका छन् । यस अघि नैं नगरलाई बालमैत्री बनाउने गरी अभियान सञ्चालन गरिएकोमा कोभिड-१९ को कारण प्रभावित भएपछि घोषणाको नयाँ मिति तय गरी अभियानात्मक रुपमा कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ-आफ्नो क्षेत्रबाट पूणर् जिम्मेवारी निर्वाह गर्दै मंसिर २९ भित्र तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने सरोकारवालाहरुले समेत प्रतिबद्धता जनाएका छन् । बालमैत्री नगरपालिका निर्माणका आवश्यक सूचक पूरा गर्न टोल—समुदाय, विद्यालय, स्वास्थ्य संस्था, वडा, नगरपालिका तहमा विभिन्न कार्यक्रमहरु भैरहका छन् ।

विभिन्न चरणमा भएका अभिमुखीकरण कार्यक्रम पश्चात जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, टोल विकास संस्था, विभिन्न संघ-संस्था, सेवाप्रदायक कार्यालय, बाल क्लवका प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवालाहरुले घोषणाको प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो । सहभागीहरुले बालअधिकार सुनिश्चितताको लागि बालबालिकालाई केन्द्रमा राखी कार्य गर्ने सहमति जनाएका छन् ।

बालमैत्री स्थानीय शासन निर्माणको लागि बनाइएको कार्ययोजनामा तोकिएका सूचक तथा मापदण्ड पूरा गर्न विद्यालय, समुदाय, वडा, नगर तहबाट गरिने कार्यविवरण उल्लेख छ । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले भौतिक पूर्वाधार विकासबाट मात्र समग्र समाजको विकास हुन नसक्ने भएकोले मानवीय विकासलाई मुख्य आधार मानेर बालमैत्री नगर घोषणाको कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो ।

नगर प्रमुख घिमिरेले बालमैत्री स्थानीय शासनका सूचकहरु पूरा गरी तोकिएकै समयमा बालमैत्री नगरपालिका घोषणा गरिने बताउँदै यसका लागि आ-आफ्नो क्षेत्रबाट योगदान गर्न सबैलाई आग्रह गर्नुभयो । बालमैत्री स्थानीय शासन; बालअधिकार सम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको प्रवद्र्धन गरी नेपालको संविधानबमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो ।

यो अवधारणाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूणर् बाल सहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउँछ ।

“बालमैत्री स्थानीय तह” भन्नाले अर्थपूणर् बाल सहभागितालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा आधारित भै स्थानीय तह आफैले आवधिक र वार्षिक योजना तथा बजेट तर्जुमा गरी निर्धारण गरेका न्यूनतम् सूचकहरू सुनिश्चित गरिएको गाउँपालिका वा नगरपालिकालाई जनाउने बालमैत्री राष्ट्रिय अभियानका सहजकर्ता विष्णुप्रसाद चौवेले बताउनुभयो । रूपन्देहीका १६ वटा स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषणा हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*