नीलमको ‘द्रोपदी अवशेष’को पाल्पामा परिचर्चा

खबरपथ संवाददाता
५ मंसिर २०७८, आईतवार २०:४१

पाल्पा  । साहित्यकार नीलम कार्की निहारीकाद्धारा लिखित उपन्यास ‘द्रोपदी अवशेष’को पाल्पामा परिचर्चा गरिएको छ । कार्कीको पुस्तकको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा नेपाली विभागको आयोजनामा आइतबार तानसेनमा परिचर्चा गरिएको हो ।
कृतिप्रतिको आफ्नो दृष्टिकोण राख्दै साहित्यकार टंक पन्थले उपन्यासमा दुर्गम र पिछडिएको सीमान्तकृत जनजातिको लोकव्यवहारलाई लिखित साहित्यको रूप दिइएको बताउनु भयो । योगमाया, चीरहरण, अर्की आइमाई, मौन जीवन लगायत कृतिका लेखक निहारिकाले पुस्तकबाट पाठकलाई हिमाली विकट क्षेत्रको यात्रा गराइएको औंल्याउदै पुस्तकमा सामाजिक प्रथा र सामाजिक अनुबन्धका कुरा समेटिएको पन्थले जनाउनु भयो ।
समीक्षक शारदा खनालले बहुपति प्रथाको विषय समेटिएको ‘द्रोपदी उपन्यास’ सांस्कृतिक उपन्यास भएको बताउनु भयो । उहाँले कृतिबाट सामाजिक, सांस्कृतिक प्रथाहरू उत्खनन गरिएको भन्दै पुस्तकमा महाभारतको मिथक जोडिएको टिप्पणी गर्नुभयो ।


लेखक नीलक कार्की निहारिकाले उपन्यासमा कर्णाली प्रदेशको हिमाली क्षेत्रमा कायम रहेको बहुपति प्रथा सम्बन्धी विषयलाई जोड दिई हुम्ली समाजको पीडा उजागर गर्ने प्रयास गरेको बताउनु भयो । कार्कीले सर्जक देशको भूगोल, संस्कृति र इतिहास सँग हामी परिचित हुन जरुरी रहेको जनाउनु भयो । ‘इतिहास मेट्ने कुरा होइन’ कार्कीले भन्नुभयो, ‘कालो होस् या सेतो इतिहासको संरक्षण गर्नु पर्दछ ।’ अर्को प्रसङ्गमा निहारिकाले अहिले सिर्जनाले मोफसल भत्काएको भन्दै समालोचनाले राजधानी भत्काउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रम सञ्चालकको भूमिकामा रहेका साहित्यकार डा.शंकर गैरेले पुस्तकमा सांस्कृतिक भिन्नता र संस्कृतिको तुलना गरिएको बताउनु भयो । सोही अवसरमा शुभकामना मन्तव्य राख्दै पत्रकार धातान्द शर्माले पाल्पाली चेलीले नेपाली साहित्यमा ओजिलो सिर्जना गरी पाल्पालीको गौरव बढाएको बताउनु भयो ।
कार्यक्रम त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंक भट्टराईको अध्यक्षतामा चलेको थियो । सांग्रीला पुस्तक प्रा.लि.द्वारा २०७८ बैशाखमा प्रकाशित ‘द्रोपदी अवशेष’ कार्कीको चौथो औपन्यासिक कृति हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*